गृहपृष्ठ ‘अनुगमन गरे पनि दोष, नगरे पनि दोष, वाक्कै भइयो’
‘अनुगमन गरे पनि दोष, नगरे पनि दोष, वाक्कै भइयो’
म जस्तो फुच्चे मन्त्रीलाई विदेशसम्म पहुँच भएका व्यापारीले के टेर्थे ?
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ब्यापारीले ठूला नेतालाई नै चलाउन सक्ने भएकोले आफूले भनेको नटेरेको गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार वैदेशिक लगानीका विषयमा गरेको कार्यक्रममा मन्त्री यादवले बजार अनुगमन गरेर व्यापारी तर्साएको आरोप गलत भएको पनि दावी गरे ।
उनले भने ‘यहाँ नेता नचाउने धेरै व्यापारी छन्, उनीहरुको विदेशसम्म पहुँच छ, म जस्तो फुच्चे मन्त्रीलाई कसले टेर्छ, मन्त्रीसँग को तर्सन्छ ?’ बजार अनुगमन गरे पनि दोष आउने र नगरे पनि दोष आइरहेकाले वाक्क भएको उनले सुनाए । मन्त्री यादवले भने ‘बजार अनुगमन गर्दा, विदेशी लगानीकर्तालाई तर्सायो भन्छन्, अनुगमन नगर्दा, बजार छाडा छोडिदियो भन्छन्, के चाही गर्नु ?’
मन्त्री यादवले मानव स्वास्थ्यमा असर पर्ने गरी उत्पादन गर्नेलाई जेल हाल्नु पर्ने बताए । नेपालमा उद्यमी भन्दा व्यापारी बढी भएकाले बाहिरको लगानी नआएको आरोप पनि लगाए । ‘यहाँ उद्योगको नेम प्लेट राखेर सबैले व्यापार गर्छन्’ उनले भने, ‘बाहिरबाट कोही आउन खोज्यो भने आफ्नो व्यापार बिग्रिन्छ भनेर वातावरण छैन भन्दै धपाउने काम हुन्छ । मलाई सब थाहा छ । ब्यापारीहरुले के के गर्छन् भन्ने ।’
फरक प्रसँगमा उनले अहिले कर बढेको भन्दै उद्योगी व्यापारीले विरोध गर्नुको तुक नभएको बताए । ‘कर व्यापारीले तिर्ने हो कि नागरिकले ?’ भन्ने प्रश्न गर्दै उनले भने ‘मलाई लाग्छ व्यापारीले त नागरिकबाट कर संकलन गरेर सरकारलाई तिर्ने हो’ मन्त्री यादवले भने ।
नेपालमा केही मिडियाले पनि विदेशी लगानीकर्तालाई तर्साउने गरी समाचार सम्प्रेषण गरेको उनको आरोप थियो । कसैले पनि विदेशी लगानीविरुद्ध गतिविधि गर्न नहुने बताए । मन्त्री यादवले नेपाली मिडयालेनै नेपालका केही व्यापारीले विदेशी लगानीकर्ता भड्काउने गरेको आरोप पनि लगाए । नेपालमा उद्योगी भन्दा व्यापारी धेरै भएको र आफ्नो व्यापार कमी हुने डरका कारण उनीहरुले विदेशी लगानीकर्तालाई नेपाल छिर्न नदिएको उनको आरोप थियो ।
याे पनि पढ्नुस् ः
वैदेशिक लगानी आकर्षित गर्न ‘कानुनी तथा प्रशासनिक झन्झट’, सरोकारवाला भन्छन्- कानुन सच्याउ
प्रकाशित समय १३:५१ बजे