गृहपृष्ठ नेपालमा कति छन् महामारीमा परिचालित हुने जनशक्ति?
नेपालमा कति छन् महामारीमा परिचालित हुने जनशक्ति?
चीनकोे वुहानबाट देखिएको कोरोना भाइरस निमोनिया (कोभिड १९) विश्वका ५० मुलुकमा देखिएपछि विश्वव्यापी चिन्ता सुरु भएको छ ।
यो भाइरसका कारण हालसम्म ८३ हजार ७२९ संक्रमित भइसकेका छन् भने २ हजार ८५९ को मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ३६ हजार ७१२ जना उपचारपछि घर फर्केका छन् ।
कुल संक्रमितमध्ये करिब ८ हजारको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
उत्तर कोरिया र नाइजेरियामा समेत कोरोना भाइरसका संक्रमितहरू देखिएपछि यो भाइरस प्रभावित मुलुकहरूको संख्या ५० पुगेको हो ।
चीनपछि दक्षिण कोरियामा कोभिड–१९ संक्रमितहरू सर्वाधिक धेरै छन्, त्यहाँ हालसम्म २ हजार ३३२ जनामा यो भाइरस संक्रमण पुष्टि भइसकेको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।
नेपालीहरूको आकर्षक रोजगार गन्तव्यका रूपमा रहेको कोरियामा एकै दिनमा यो भाइरस संक्रमितहरूको संख्या करिब ६ सयले वृद्धि भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वका कुनै पनि मुलुक यो भाइरसको संक्रमणबाट बच्न नसक्ने भनेर चेतावनी दिइसकेको छ ।
हालसम्म ‘एक जनामात्र संक्रमित भएकोमा ऊ पनि निको भएर घर फर्किसर्किसकेको’ सरकारले प्रचार गर्दै आए पनि अवस्थाको गाम्भीर्यता बढ्न थालेपछि स्वास्थ्य सेवा विभागले यसविरुद्धको अभियान चलाउने निर्णय गरेको छ ।
विभागले अत्यावश्यकबाहेक कोरोना भाइरसविरुद्ध विभागअन्तर्गतका जनशक्ति परिचालन गरिएको बताएको छ ।
कोरोना महामारीबाट संक्रमित विमारी बढ्दै गए तिनको उपचार कहाँ कहाँ गर्ने भन्ने सरकारले अहिलेसम्म प्रष्ट जानकारी दिएको छैन । केही निजी अस्पतालहरूमा गत वर्षका सार्स संक्रमित उपचारमा प्रयोग गरिएका ‘आइसोलेसन कक्ष’लाई नै उपयाेग गर्ने रणनीतिमा सरकार छ ।
यस्तै, सम्भावित कोरोना प्रभावितहरूलाई राख्ने ‘क्वारेन्टाइन स्थल’ पनि सरकारले चयन गरेकै छैन । चीनको वुहानबाट ल्याइएका १८३ कोरोना प्रभावितहरूलाई अहिले भक्तपुरको खरिपाटीमा राखिएको छ ।
उनीहरूमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि १४ दिनको ‘क्वारेन्टाइन’पछि आउँदो साता घर फिर्ता पठाउने सरकारको तयारी छ ।
यसैबीच, काठमाडौं उपत्यकामा विगत तीन सातादेखि मौसमी फ्लु फैलिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हङकङ फ्लु (एचथ्री), एन–१ एन१ (स्वाइन फ्लु)लगायत मौसमी फ्लुका बिमारीहरू उपचारका लागि जाने क्रम बढेको छ ।
गत वर्ष स्वाइन फ्लुका कारण केही नेपालीहरूका मृत्यु भए पनि ‘निमोनिया’भन्दै सूचना प्रवाह गरिएकाले यस्ता मौसमी फ्लुको प्रकोपबारे आमनागरिकले सही सूचना नै पाउन सकेनन् ।
हाल दैनिक एक दर्जनका हाराहारीमा माैसमी फ्लुबाट संक्रमितहरू उपचारका लागि आउने गरेको शु्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योभन्दा ठूलो संख्यामा माैसमी फ्लुबाट संक्रमितहरू निजी अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् ।
स्वास्थ्य सेवा विभागले अहिले कोरोना प्रकोपविरुद्धको अभियानमा सातै प्रदेशमा आवश्यक जनशक्ति खटाइने जनाएको छ ।
कति छन् प्रशिक्षित जनशक्ति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महामारी/प्रकोप तथा संक्रामक रोगहरूविरुद्धको तयारी तथा प्रतिकार्यमा खटिने गरी सरकारी र निजी क्षेत्रका ६७ जना चिकित्सकहरूलाई विशेष प्रशिक्षण दिइएको छ । यीमध्ये अधिकांश विशेषज्ञ चिकित्सक हुन् ।
यस्तै बिमारीको उचित व्यवस्थापनासम्बन्धी तालिम २२९ जनालाई दिइएको छ । यीमध्ये प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा ३७, बागमतीमा ३८, गण्डकीमा ३१, प्रदेश ५ मा ३७, कर्णालीमा ३१ र सुदूरपश्चिममा २३ जना छन् । यो तालिम लिनेमा १२५ जना डाक्टरहरू हुन भने अन्य नर्सहरू हुन् ।
यसैगरी १०० जना प्रयोगशाला प्राविधिकहरूलाई संक्रामक रोग प्रयोगशाला नमुना संकलन तथा ढुवानीका लागि विशेष प्रशिक्षण दिइएको मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभागले यी सबै प्रशिक्षित जनशक्तिलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी सबै स्थानीय तहलाई उनीहरूको फोन नम्बरसहितको परिपत्र गरेको छ ।
प्रकाशित समय १६:४३ बजे

















