गृहपृष्ठ राउटे समुदायका बालबालिकालाई भिटामिन
राउटे समुदायका बालबालिकालाई भिटामिन
सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ ।
समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो । सरकारी अभियानको पहिलो दिन बुधबार सोे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् ।
उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन बिहीबार भने औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिएका छन् ।
गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो । जंगलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् ।
कुल १४८ जनाको जनसंख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् ।(रासस)
प्रकाशित समय ०६:५९ बजे

















