गृहपृष्ठ पोखराका बसमा आजदेखि ई-टिकेटिङ सिस्टम लागू

पोखराका बसमा आजदेखि ई-टिकेटिङ सिस्टम लागू

eTicketing-pokhara-newskarobar

पोखराका मुख्य चोक (कोर सिटी) मा आजदेखि बसहरुमा ई-टिकेटिङ सिस्टम सुरु भएको छ । पोखराभर ई-टिकेटिङ लागू गर्न खोजेको महानगरपालिकाले प्राविधिक कारण देखाउँदै कोर सिटीमा मात्र लागू गरेको हो ।

महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले प्राविधिक समस्याका कारण पोखराका सबै रुटमा गुड्ने सवारी साधनमा ई-टिकेटिङ लागू गर्न नसकिएको जानकारी दिए । ‘केही दिनभित्रै पोखराभर ई-टिकेटिङ लागू गर्छौं,’ उनले भने, ‘आइतबारदेखि कोर सिटीबाट औपचारिक रुपमा सुरु हुन्छ ।’

पोखरा महानगरपालिकामा प्रविधिमैत्री सवारी साधन प्रयोग गर्ने गराउने उद्देश्यले ई-टिकेटिङ लागू गरिएको हो । हाल पोखरामा गुड्ने ३५० बसहरुमा ई-टिकेटिङ सिस्टमका लागि डिभाइस र सफ्टवेयर जडान भइसकेको छ । ई-टिकेटिङका लागि यात्रुले मेट्रो कार्ड खरिद गर्न १३५ रुपैयाँ तिर्नुपर्छ ।

कार्डबाट यात्रुले न्यूनतम १३ रुपैयाँ तिर्नुपर्नेछ । कार्ड प्रयोग गर्ने यात्रुले छुट पाउने महानगरले जनाएको छ । जेष्ठ नागरिकलाई दुई आरक्षण सिटसहित विद्यार्थीलाई ४५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

क्यासलेस सिस्टमका लागि महानगरपालिकाले ओम डेभलपमेन्ट बैंकसँग सहकार्य गरेको छ । ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले पहिलो चरणमा १० हजार कार्ड वितरण गरिने जानकारी दिए । ‘पहिलो चरणमा १० हजार कार्ड निःशुल्क वितरण गर्नेछौं,’ उनले भने, ‘३ लाखसम्म कार्ड वितरण गर्ने योजनामा छौं ।’

प्रकाशित समय ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु