गृहपृष्ठ हुम्लाको लिमी गाउँमा इन्टरनेट सेवा सुचारू

हुम्लाको लिमी गाउँमा इन्टरनेट सेवा सुचारू

हिमपातका कारण पाँच महिनाअघि बिग्रेको हिमालपारीको गाउँ लिमीस्थित मोनोपोल टावर मर्मतसम्भार भएपछि इन्टरनेट सेवा पुनः सूचारु भएको छ । इन्टरनेट सेवा सूचारू भएपछि लिमीका तीन गाउँ जांग, हल्जी र तिलका स्थानीय लाभान्वित भएको लिमी- ६ का वडाध्यक्ष पाल्जोर लामाले बताए ।

हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ मा पर्ने चार हजार मिटर अग्लो स्थानमा रहेका तीन गाउँलाई प्रविधिमार्फत बाहिरी संसारसँग जोड्नका लागि जडान गरेको इन्टरनेट सेवामा आएको समस्या समाधान भएको वर्ल्डलिंक हुम्लाका प्रतिनिधि रामजन रावतले जानकारी दिए । उनका अनुसार मोनोपोल टावर मर्मत गरेपछि इन्टरनेट सेवा सूचारु भएको हो ।

नेपाल टेलिकमको भिस्याड टेलिफोन सेवाले काम नगरेको अवस्थामा इन्टरनेट सेवा सूचारु भएपछि चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका- ६, लिमी गाउँसँगको सञ्चार सम्पर्क स्थापित भएको छ । हिमपात र कोरोना भाइरसको त्रासले बिग्रेको मोनोपोल टावर मर्मतका लागि प्राविधिक टोली लिमी जान नसकेका कारण इन्टरनेट अवरुद्ध भएको थियो ।

मौसममा सुधार र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त भएपछि टावर मर्मत भएको वर्ल्डलिंक प्रतिनिधि रावतले बताए । सञ्चार तथा प्रविधि मन्त्रालयको परियोजनामार्फत सरकारले कर्णालीका हरेक स्थानीय तहका केन्द्र वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट जोडने कार्यक्रमअन्तर्गत लिमी गाउँमा वर्ल्डलिंक सेवा जडान भएको थियो ।

यसबाट चार हजार मिटर अग्लो स्थानमा रहेको हुम्लाको लिमी क्षेत्रका तीन गाउँका जानकारी आदानप्रदान गर्न र बाहिरी सञ्चारसँग जोडिनका लागि सजिलो भएको छ ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु