गृहपृष्ठ गल्तीले भाजपालाई भोट हालेपछि एक युवाले आफ्नो औंला काटेर फाले

गल्तीले भाजपालाई भोट हालेपछि एक युवाले आफ्नो औंला काटेर फाले

भारतमा एकजना युवाले मतदानका क्रममा आफूले भूलवस गलत पार्टीलाई मत हालेको थाहा भएपछि आफ्नो चोरऔँलो काटेर फालिदिएको बताएका छन् । उनका अनुसार उनले भूलवश उनले मन नपराएको भारतीय जनता पार्टीलाई भोट हालेका थिए । सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती युवाले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएका छन् ।

एउटा क्षेत्रीय पार्टीलाई मत दिन चाहेका उनी विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर अलमलमा परेको बताएका छन् । मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ । भारतीय निर्वाचनको दोस्रो चरणमा ६१.१२ प्रतिशत मत खसेको बीबीसीले उल्लेख गरेको छ ।

पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए । भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो । ‘म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ, उनले भनेका छन् ।

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो । उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ ।

भारतको निर्वाचनमा पार्टीको चुनाव चिन्हको ठूलो अर्थ रहन्छ । धेरै भागमा साक्षरता दर कम रहेको उक्त देशमा चुनाव चिन्हका कारण पार्टी चिन्न मतदातालाई सहज हुने गर्छ ।भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना रहने गर्छ । पवन कुमार कथित दलित समुदायका सदस्य हुन् जुन समुदाय बहुजन समाज पार्टीको महत्त्वपूर्ण भोट बैंक मानिन्छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु