गृहपृष्ठ सरकारविरुद्ध आन्दोलनको तयारी गर्न विद्यार्थीहरुलाई कांग्रेस नेताहरुको आग्रह

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न विद्यार्थीहरुलाई कांग्रेस नेताहरुको आग्रह

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । सरकारले जनताको हितमा काम गर्न नसकेको आन्दोलन गर्नुपर्ने बेला आएको देउवाको भनाइ छ ।

नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा देउवाले भने ‘निर्मलाको हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महंगी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ,’ उनले भने ।

सभापति देउवाले विद्यार्थी नताहरुसँग छलफल गरी नेविसंघको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनले बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको बताए । ‘नेविसंघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ उनले भने ।

कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिस्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए ।

प्रकाशित समय १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु