गृहपृष्ठ कोरोना भाइरस : विश्वभर २ हजार ८७३ को मृत्यु
कोरोना भाइरस : विश्वभर २ हजार ८७३ को मृत्यु
नयाँ कोरोनाभाइरसको संक्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा संक्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्यांकमा बताइएको छ ।
सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले संकलन गरेको तथ्यांकमा जनाइएको छ ।
बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई संक्रमण पुष्टि भैसकेको छ ।
ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ ।
यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सक्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा संक्रमण पुष्टि भएको छ ।
चीनबाहेक संक्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई संक्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र संक्रमण पुष्टि भएको हो ।
दक्षिण कोरियामा संक्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ संक्रमित व्यक्तिसहित ६५० जनाले संक्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस संक्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।
इरानको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । इरानमा संक्रमितको संख्या ३८८ पुगेको छ ।
त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ । (एजेन्सी)
प्रकाशित समय ०८:२७ बजे

















