गृहपृष्ठ कांग्रेसले गर्‍यो जग्गा दिने निर्णयको विरोध

कांग्रेसले गर्‍यो जग्गा दिने निर्णयको विरोध

नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका– २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् ।

महानगरपालिकाको कार्यपालिकाको ३६ औँ बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर आपत्ति प्रकट गर्दै निर्णय सच्याउन मागसमेत गरेका छन् ।

वडाध्यक्षका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले शुक्रबार यहाँ विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकले सो निर्णय गरी फागुन ११ मा सम्झौता समेत गरेको भन्दै उक्त निर्णयप्रति आफूहरूको ध्यान गम्भीररुपमा आकृष्ट भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बैठकमा उक्त कार्ययोजना प्रस्तुत गर्नुभएपछि तत्काल वडा नं २७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य पूर्णकुमार गुरुङले उठेर लेखनाथवासीलाई नसोधी निर्णय गर्नु नहुने भनेको बताइएको छ ।

प्रमुख जिसीले लेखनाथवासीसँग छलफल गरेर निर्णय गर्ने भनिसकेको अवस्थामा कसरी भवन तथा जग्गा दिने निर्णय भयो त्यो बुझ्न नसकिएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसम्मत निर्णय नभएको भन्दै विज्ञप्तिमा सो निर्णय तत्काल सच्याई लेखनाथवासीको भावनाको अपनत्व गराउन माग गरिएको छ । उक्त निर्णयको विरोध गर्दै साविक लेखनाथ नगरपालिकाका पूर्वजनप्रतिनिधि राजेन्द्रमणि लामिछाने, दीननाथ ढकाल, ढकनाथ कँडेल, गोपालमान गुरुङलगायतले महानगर प्रमुखलाई ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु