गृहपृष्ठ कोरोना भाइरस : स्पेनमा पनि संकटकाल, फ्रान्समा थप प्रतिबन्ध
कोरोना भाइरस : स्पेनमा पनि संकटकाल, फ्रान्समा थप प्रतिबन्ध
युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोना भाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागू गरेका छन् ।
स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोना भाइरस संक्रमण अर्थात् कोभिड-१९ बाट मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोना भाइरस महामारीको केन्द्र बिन्दु बनेको जनाएको छ । महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ ।
फ्रान्समा ९१ जनाको मृत्यु भएको छ । त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन् । इटलीमा १ हजार ४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सोमवारदेखि त्यहाँ देशव्यापी बन्द लागू गरिएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् ।
यूकेमा २४ घण्टामा मृत्यु हुने मानिसको संख्या दोब्बर भएको छ । अहिलेसम्म त्यहाँ २० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई सय जनाभन्दा बढी वैज्ञानिकहरूले सरकारलाई महामारी नियन्त्रण गर्न कडा उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरस संक्रमणको उद्गमस्थल मानिएको चीनमा स्थानीय मानिसमा भन्दा बाहिरबाट आउने मानिसमा संक्रमण बढी देखिन थालेको छ ।
स्पेनले कस्तो उपाय अपनाएको छ ?
चार करोड ६७ लाख जनसंख्या भएको स्पेनमा ६ हजार ३०० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । शनिवार राति प्रधानमन्त्री पेद्रो सान्चेजी पत्नी बेगोना गोमेजलाई पनि संक्रमण भएको पुष्टि भयो ।
प्रधानमन्त्री सान्चेज र पत्नी गोमेज
सरकारका अनुसार दुवै जना मड्रडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ । शुक्रवार साँझ थप १ हजार ८०० जनामा संक्रमण भएको पुष्टि भयो । तीमध्ये अधिकांश मानिस राजधानीमा छन् ।
स्पेनमा खाद्यपदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तु बेच्ने पसल खुला रहनेछन् । संकटकाल घोषणा भएकाले सरकारले नागरिकहरूलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ ।
सबै संग्रहालय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछन् । रेस्टुराँ र क्याफे होम डेलिभरी मात्र गर्न पाउने छन् । ब्यांक र इन्धन भर्ने स्टेशनहरू खुला रहनेछन् । देशभरि विद्यालयहरू बन्द भइसकेका छन् ।
प्रधानमन्त्रीले सबैलाई आफ्ना सैद्धान्तिक मतभिन्नतालाई बिर्सेर एकजुट हुन र नागरिकलाई प्राथमिकता दिन आह्वान गरेका छन् । संकटकाल दुई हप्ताका लागि लगाइएको हो । आवश्यक परे संसद्को स्वीकृतिमा लम्बिन सक्छ ।
स्पेनमा सन् १९७५ मा राजनीतिक परिवर्तन सुरु भए यता दोस्रो पटक संकटकाल लगाइएको हो । पहिलो पटक सन् २०१० मा हवाई सेवामा कार्यरत एअर ट्राफिक कन्ट्रोलरहरूले हडताल गरेको बेला लगाइएको थियो ।
फ्रान्समा के हुँदैछ ?
झन्डै छ करोड ३५ लाख जनसंख्या भएको फ्रान्समा ४ हजार ४०० जनाभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री इन्वार फीलीपले कोभिड-१९ का कारण सघन उपचार गराउनुपर्ने बिरामीको संख्या दिनानुदिन बढिरहेको बताएका छन् । शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द भएका छन् ।
तर खाद्यपदार्थ बेच्ने पसल, औषधि पसल, ब्याङ्क, चुरोट पसल र इन्धन बेच्ने स्थानहरू भने खुल्नेछन् । प्रधानमन्त्री फीलीपले सकेसम्म कम यात्रा गर्न आग्रह गरेका छन् । उनले महामारीको गतिलाई सुस्त बनाउन मानिसहरूबीच दूरी घटाउनुपर्ने सुझाव दिएका छन् ।
तर पूर्वनिर्धारित योजनाअनुसार आइतवार स्थानीय निर्वाचन हुने उनले बताए । धार्मिक स्थलहरू खुला रहनेछन् तर तिनमा भेला र अन्य समारोह स्थगित गरिएको छ । सोमवारदेखि देशैभरि विद्यालयहरू बन्द हुनेछन् ।
फ्रान्समा शनिवार सङ्क्रमित व्यक्तिको संख्या ३ हजार ६६२ बाट ह्वात्तै बढेर ४ हजार ४९९ पुग्यो तथा १२ जनाको मृत्यु भयो । फ्रान्समा अहिलेसम्म कुल ७९ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । (एजेन्सी)
प्रकाशित समय १३:०९ बजे

















