गृहपृष्ठ ठगिन्छन्, गुनासो गर्छन् तर चुपचाप बस्छन्

ठगिन्छन्, गुनासो गर्छन् तर चुपचाप बस्छन्

बजार, बजारजस्तो नभएर ‘ठगीस्थल’ बनिरहेको आरोप

फाइल तस्बिर ।

नेपालमा उपभोक्ता अधिकारलाई कानुनले नै सुनिश्चित गरिसके पनि सर्वसाधारण भने यसबारे जानकार छैनन् । मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ताहरु ठगिने क्रम रोकिएको छैन । गुणस्तरहीन सामानका लागि चर्को मूल्य तिर्न उनीहरु बाध्य छन् ।

अधिकांश उपभोक्तालाई आफूले किनेको सामानको वास्तविक मूल्य कति हो भन्नेसम्म जानकारी हुँदैन । कतिलाई आफू ठगिएको थाहा भएर पनि कहाँ उजुरी गर्ने भन्ने जानकारी नहुँदा चुपचाप बस्न बाध्य छन् ।

यस विषयमा उपभोक्ताहरु स्वयं सचेत हुनु आवश्यक रहेको अधिकारकर्मीहरु बताउँछन् । उपभोक्ताहरु बीचमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने कञ्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालको धारणा छ । उपभोक्ताहरुमा सचेतना अभाव भएकाले अहिले बजारमा कालोबजारी व्यापक बढेको उनले बताइन् । ‘हरेक वस्तुमा मिसावट छ । बढी मूल्य तिर्नुपर्ने, नापतौलमा ठग्ने, गुणस्तरहीन सामान विक्री गरिने क्रम रोकिएको छैन,’ उनले भनिन् । उपभोक्ता अधिकारका विषयमा व्यापक सचेतना फैलाउन आवश्यक रहेको उनले औंल्याइन् । उपभोक्ताहरु सचेत र जागरुक भएको खण्डमा मात्र ठगी रोकिने उनको धारणा छ ।

बजारका समस्याहरु

प्राय उपभोक्ताहरुलाई बजारमा आफूहरु ठगिने गरेको थाहा छ । तैपनि उनीहरु कानुनी उपचारतर्फ लाग्दैनन्, गुनासो मात्र गर्छन् । त्यही कारणले उपभोक्ता ठगिने क्रम रोकिएको छैन, मौलाएको छ । उपभोक्ता अधिकारकर्मीहरु पनि बजार, बजारजस्तो नभएर ‘ठगीस्थल’ बनिरहेको आरोप लगाउँछन् ।

व्यापारीहरु विभिन्न तरिकाबाट उपभोक्ताको ‘आँखामा धुलो’ हाल्ने काम गरिरहेको देखिन्छ । व्यापारीहरुले व्यवसाय दर्ता नगर्ने र दर्ता गरेकाहरुले पनि नवीकरण नगर्ने समस्या बढ्दो छ । वस्तुको मूल्यसूची नराख्ने, लेबल नराख्ने, राखे पनि आफूखुसी राख्ने, कमतौलका ढकतराजु प्रयोग गर्ने बजारका समस्या हुन् । यसबाहेक मुख्य रुपमा एकाधिकारपूर्ण र कानुनद्वारा निषेधित तथा अनुचित व्यापारिक क्रियाकलाप बजारका मुख्य समस्या रहेका छन् ।

यसका साथै खाद्य वस्तुमा अखाद्य वस्तु मिसाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कानुनले तोकेभन्दा बढी नाफा लिई छुटको नाममा लुट गर्ने, अस्पतालहरुले पनि व्यवस्था भएअनुसारको निशुल्क सेवा नदिने, भर्ना शुल्क तोकिएभन्दा बढी लिने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

कानुनमा के छ ?

केही दिनअघि मात्र कञ्जुमर आई नेपालले ‘वर्तमान कानुन र उपभोक्ता अधिकार’सम्बन्धी कार्यक्रम गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष खनालले उपभोक्ता अधिकार र दण्ड सजायसम्बन्धी कानुनी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरिन् । नेपालको संविधानको धारा ४४ अनुसार ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहेको’ उल्लेख छ । तर उपभोक्ताहरु भने कम गुणस्तर र मिसावटयुक्त वस्तु बढी मूल्य तिरेर प्रयोग गर्न बाध्य छन् ।

प्रतिस्पर्धात्मक मूल्यमा छनोट गर्न पाउने उपभोक्ताको अधिकार रहेको पनि सो कार्यपत्रमा औंल्याइएको छ । वस्तु तथा सेवाको बारेमा सुसूचित हुन पाउने, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारवाही गराउन पाउने हरेक उपभोक्तामा अधिकार छ। त्यस्तै उपभोक्ता हकको संरक्षण सम्बन्धमा अधिकारप्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुनेमा विश्वस्त हुने अधिकार कानुनमा उल्लेख गरिएको छ ।

ठगी भएको जानकारी भएमा तत्काल कानुनी कारवाही गरिने सम्बन्धित निकायहरुले बताउँदै आएको छन् । माथि उल्लेखित कार्यक्रममा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ताहरुले आफू ठगिएको जानकारी गराएमा दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएका थिए । उपभोक्ता ठगीको विषयमा अनुगमन र कारवाहीका लागि मन्त्रालयले तत्काल ‘एक्सन’ लिने मन्त्री भट्टले विश्वास दिलाए ।

कसुर तथा दण्ड सजाय

लेबलिङ नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा ३ देखि ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनमा उल्लेख छ । खरिद गरिएको वस्तु उपभोक्तालाई चित्त नबुझेमा ७ दिनभित्र र सिलबन्दी गरिएको १५ दिनभित्र विक्रेताले साटिदिने वा फिर्ता गरिदिनुपर्छ, नगरेको खण्डमा ३ देखि ६ महिनासम्म कैद र ५० हजारसम्मको जरिवना हुन्छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, मूल्य, नापतौल आदि लुकाइ विक्री गरिएको खण्डमा २ देखि ३ लाखसम्म जरिवना हुने कानुनी प्रावधान छ ।

म्याद सकिएको वस्तु विक्री गरेको खण्डमा पनि २ देखि ३ लाखसम्म जरिवाना हुन्छ । यसबाहेक फरक-फरक परिस्थितिजन्य अवस्थाका लागि विभिन्न दण्ड सजायसम्बन्धी प्रावधान कानुनमा उल्लेख छ । तर पनि उपभोक्ताहरु भने आफू ठगिए पनि सोबारे उजुरी लिएर सम्बन्धित निकायसम्म गएको देखिँदैन । अहिलेसम्म आफू ठगिएको भनेर कोही उपभोक्ता नआएको भन्ने मन्त्री भट्टको भनाइबाट नै उपभोक्ता उजुरी गर्न नगएको प्रष्ट हुन्छ ।

कानुनमा स्पष्ट नीति, नियम र दण्ड सजायबारे व्यवस्था छ । तसर्थ यसबारे उपभोक्ता स्वयं सचेत हुनु जरुरी छ । जबसम्म उपभोक्ताहरु सचेत हुँदैनन्, तबसम्म कानुनमा जतिसुकै दण्ड सजायको व्यवस्था गरिए पनि उपभोक्तामाथि हुने ठगीको अन्त्य हुँदैन ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु