गृहपृष्ठ अम्फान आँधीबाट बंगलादेश र भारतमा ८४ जनाको मृत्यु
अम्फान आँधीबाट बंगलादेश र भारतमा ८४ जनाको मृत्यु
आँधीबाट एक करोड मानिस प्रभावित, पाँच लाखले गुमाए थातबास
भारत र बंलादेशमा आएको विनाशकारी आँधी अम्फानका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् भने बालीनाली र रुख बोटविरुवाहरु पनि नष्ट भएका छन् । यो आँधीलाई सन् १९९९ देखि अहिलेसम्मको सबैभन्दा बढी विनाशकारी मानिएको छ ।
भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ ।
घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ । अधिकारीहरुले दिएको जानकारी अनुसार भारतको पश्चिम बंगाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएकी छन् । उनले यति ठूलो र विनाशकारी आँधी अहिलेसम्म नदेखेको प्रतिक्रिया दिएकी छन् ।
आँधीको प्रभाव परेको बंगलादेशमा १२ जनाको मृत्यु भएको छ । बंगलादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरमा राखिएको छ भने भारतमा ६ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरेको छ ।
प्रकाशित समय ०७:२१ बजे

















