गृहपृष्ठ कोरोनाभाइरसको स्रोत खोज्दै डब्लूएचओको टोली चीनमा
कोरोनाभाइरसको स्रोत खोज्दै डब्लूएचओको टोली चीनमा
कोरोनाभाइरस (कोभिड १९) उत्पत्तिको स्रोतको खोज्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का विज्ञहरु चीन पुगेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण सवैभन्दा पहिला चीनको वुहानमा भेटिएकाले उनीहरु अध्ययनका लागि चीन आएका हुन् ।
डब्लूएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार जानकारी गराएकी छन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लूएचओका विज्ञले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने बताइन् ।
‘उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,’ प्रवक्ता हुआले भनिन् । डब्लूएचओका स्वास्थ्य विशेषज्ञहरु यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले जनाइन् । ‘कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पूरा गर्नुपरेको डब्लूएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु चीन आएका हुन्,’ उनले भनिन् ।
यसअघि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले कोरोनाभाइरसको स्रोत पत्ता लगाउन धेरै महत्वपूर्ण रहेको बताएका थिए । यो विज्ञानसँग सम्वन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्वन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी सुरु भयो र कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने उनको भनाइ थियो ।
कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बर ३१ मा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका सबै देश र क्षेत्रमा कोभिड १९ महामारी फैलिएको छ ।
प्रकाशित समय ०६:४० बजे

















