गृहपृष्ठ ‘पुटिनका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएर मार्ने प्रयास’

‘पुटिनका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएर मार्ने प्रयास’

रुसका विपक्षी नेता एवं पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएर मार्ने प्रयास गरिएको सत्ता पक्षलाई आरोप लागेको छ । जर्मनीको बर्लिनस्थित अस्पतालले नाल्भानीलाई विषाक्त पदार्थ खुवाइएको बताएको हो ।

बर्लिनको च्यारिते हस्पिटलले जारी गरेको वक्तव्यमा उनलाई विषाक्त पदार्थ खुवाइएको देखिएको उल्लेख छ । रुसमा नाल्भानीको उपचारमा संलग्न डाक्टरहरुले भने विषाक्त पदार्थ नदेखिएको र गलत आरोप लगाइएको बताएका छन् ।

रुसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी बिहीबार बिरामी परेका थिए । लगत्तै कोमामा गएपछि उनको उपचारका लागि साइबेरियन सहर ओम्सकमा आपतकालीन अवतरण गरिएको थियो ।

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका कट्टर आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । अवस्था थप गम्भीर भएपछि उनीहरु नाभाल्नीलाई विमानमार्फत जर्मनी जान दिन सहमत भएका थिए ।

नाभाल्नीका समर्थकहरुले विमानस्थलको क्याफेमा दिइएको चियामा विषाक्त पदार्थ मिलाइएको आरोप लगाएका छन् । सत्ताले अपराध ढाकछोप गर्न खोजेको उनीहरूले बताएका छन् ।

४४ वर्षीय नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । गएको जुनमा पुटिनले थप दुई कार्यकाल आफूलाई सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गरेका थिए । त्यसलाई नाभाल्नीले संविधानको उल्लंघन र ‘कु’ का रुपमा परिभाषित गरेका थिए ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु