गृहपृष्ठ लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप
लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप
फाइल तस्बिर ।
भारत र चीनबीचको सीमा रेखा लाइन अफ एक्चुअल (एलएसी)स्थित लद्दाख क्षेत्रमा दुई देशका सैनिकबीच फेरि झडप भएको छ । पाङगोङ त्सो तालको दक्षिणी क्षेत्रमा भएको झडपमा भएका क्षतिको वास्तविक विवरण भने आइनसकेको भारतीय सञ्चारमाध्यम भास्कर दैनिकले उल्लेख गरेको छ ।
सीमा क्षेत्रमा भएको सहमति चिनियाँ पक्षले उल्लंघन गरेको र चिनियाँ सेनाको घुसपैठलाई भारतीय सेनाले रोकेको दावी गरिएको छ । ‘भारतीय सेना संवादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ । चिनियाँ सैनिकलाई उचित जवाफ दिन हामी तयार छाैं,’ भारतीय सेनाले चेतावनी दिएको छ ।
अगष्ट २९ र ३० गते राति दुई देशका सैनिकबीच झडप भएको तर क्षतिको विवरण अहिलेसम्म आउन सकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको झडपमा कर्णेलसहित कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
गलवान झडपपछि जुन ३० र अगस्ट ८ मा सैनिक कमाण्डर तहमा दुवै पक्षबीच वार्ता भए पनि उल्लेखनीय उपलब्धि भने हासिल भएको छैन ।
प्रकाशित समय १३:२६ बजे

















