गृहपृष्ठ अमेरिकी राष्ट्रपतीय निर्वाचन आज, ट्रम्प र वाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान
अमेरिकी राष्ट्रपतीय निर्वाचन आज, ट्रम्प र वाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान
अमेरिकामा मंगलबार राष्ट्रपतीय निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ट्रम्प अनुदारवादी ठानिने रिपब्लिकन र वाइडन उदारवादी दल डेमोक्र्याट उम्मेदवार हुन् ।
चार वर्षका लागि निर्वाचित अबको नेतृत्वलाई कोरोनाभाइरस महामारी र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने कार्यभारसमेत थपिनेछ । कोरोनाबाट विश्वमै सबैभन्दा बढी आक्रान्त अमेरिकाको राष्ट्रपतीय चुनाव पनि यो वर्ष विगतमा जस्तो आप्रवासन, रोजगारी, स्वास्थ्य बिमाजस्ता मुद्दामाभन्दा पनि कोरोनाभाइरस नियन्त्रणको विषयमा बहसमा रह्यो ।
एक वर्षको अवधिमा कोरोना नियन्त्रणमा कमजोर देखिएको आरोप ट्रम्पमाथि लागिरहेको छ । वाइड यसैलाई बलियो आधार बनाएर मैदानमा उत्रिएका छन् । आलोचकहरूले पनि कोरोना नियन्त्रण र यसको विश्वव्यापी प्रभाव कम गर्न ट्रम्प प्रशासन असक्षम भएको टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले बचाउ गर्दै आएको छ । निर्वाचनको दिनसम्ममा कोरोनाभाइरसबाट अमेरिकामा ९५ लाख ६७ हजार मानिस कोरोना संक्रमित भएका छन् भने भने दुई लाख ३६ हजारले ज्यान गुमाएका छन् ।
के छ चुनावी अवस्था ?
अमेरिकामा बालिग मताधिकारको संख्या २४ करोड छ । हुलाकबाट र अर्ली भोटिङमार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक बाहिरिएको छ ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएरमात्र जित हासिल हुँदैन । अमेरिकी संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुने गर्छ । ५३८ इलोक्ट्रोल मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपति पदमा निर्वाचित हुनेछन् । इलोक्ट्रोल कलेजको मतमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जिया निर्णायक राज्य हुन् । हुलाकमार्फत पनि भोटिङको व्यवस्था गरिएकाले मत गणनामा एक सातासम्म लाग्ने अनुमान निर्वाचन कार्यालयहरुले गरेका छन् ।
प्रकाशित समय ०७:५३ बजे

















