गृहपृष्ठ ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला अग्रस्थानमा : सर्भेक्षण

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला अग्रस्थानमा : सर्भेक्षण

ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला डे सिल्भा नै अग्रस्थानमा भएको आइतबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ । दुई महिनादेखि जेलमा रहँदै आएका पूर्व राष्ट्रपतिराष्ट्रपतिको कार्यकाल ब्राजिलको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण भएको पाइन्छ ।

प्रतिवेदन अनुसार अझै पनि सवैभन्दा धेरै ब्राजिलियाली लुलाको पक्षमा देखिएका छन् । लुला सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका थिए ।

सर्भेक्षण कम्पनी डाटाफोल्हाका अनुसार अहिले पनि ३० प्रतिशत ब्राजिली जनताले वर्कर्स पार्टीका नेता लुलाको पक्षमा मतदान गर्ने बताएका छन् ।

गत अप्रिल ७ देखि दक्षिणी शहर कुरिटिभामा रहेको प्रहरीको संघीय मुख्यालयमा कैदी जीवन विताइरहेका लुलालाई घुसका रूपमा अपार्टमेन्ट लिएको अभियोगमा १२ वर्षका लागि सजाय तोकिएको छ ।

बहत्तर वर्षीया वामपन्थी नेता लुलाले भने आफूमाथि लगाइएको अभियोगको प्रतिवाद गर्दै आफू उक्त बिषयमा अनभिज्ञ रहेको बताउँदै आएका छन् । उनले आफूमाथि राजनीतिक पूर्वाग्रहबाट उक्त आरोप लगाइएको दावी गर्दै आएका छन् ।

यसपहिले अर्थात् लुलालाई जेल सजाय भएपछि तत्कालै गरिएको सर्भेक्षणमा पनि उनलाई ३१ प्रतिशत जनताको समर्थन देखिएको जनाइएको थियो ।

डाटाफोल्हाले सर्भेक्षण प्रतिवेदनमा भनेको छ, ३० प्रतिशत जनता लुलाको पक्षमा देखिएका भएपनि २१ प्रतिशत जनताले निर्वाचनलाई कुनै महत्व नदिएको बताए । यसैगरी १७ प्रतिशतले दक्षिणपन्थी समूहका उम्मेदवार जाइर बोल्सोनारोलाई समर्थन गरेका छन् भने १० प्रतिशत जनता पूर्व वातावरण मन्त्री मरिना सिल्भाको पक्षमा देखिएका छन् ।

लुलालाई उनको वर्कर्स पार्टीले पूर्ण समर्थन जनाउने निर्णय शुक्रबार गरेको थियो । उसले एक वक्तव्य जारी गरी गरेको वक्तव्यमा भनिएको छ, ‘वर्कर्स पार्टीले पूर्व राष्ट्रपति लुलालाई दिएको समर्थनलाई राष्ट्रपतीय निर्वाचन र यसको अन्तिम परिणाम आउँदासम्म पनि निरन्तरता दिनेछ ।’

लुलाको समयमा अर्थतन्त्रमा विकास भएको र उनले ल्याएका प्रमुख आयोजनाका कारण लाखौं ब्राजिलियालीलाई अति गरिबीको रेखाबाट माथि उकासेको बताउने गरिन्छ ।
डाटाफोल्हाले देशभरका दुई हजार ८२४ मतदातासँग सर्भेक्षण गरेको थियो ।

(रासस÷एएफपी)

प्रकाशित समय १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु