गृहपृष्ठ प्रतिपक्षीको लगातार अबरोधछि प्रदेशसभामा मार्सल

प्रतिपक्षीको लगातार अबरोधछि प्रदेशसभामा मार्सल

संसदीय मान्यता विपरीत : श्रेष्ठ

pradesh-4_pic

प्रदेश नं ४ आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अबरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।

प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेससले अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो ।

कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । चैत १२ गते गठित नामाकङ्न तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो ।

कांग्रेसका सभासदहरुले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि अपराह्न ४ः५५ बजे मात्रै शुरु भएको थियो । पहिलो बैठकको प्रारम्भमा नै प्रतिपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिएका थियो ।

नेपालीले प्रदेशसभामा पहिले टेबुल भएका विधेयक सम्बन्धमा छलफल नगरी अन्य विषयमा छलफल शुरु गरिएकामा विरोध गर्दै प्रदेशसभामा टेबुल भइसकेको नामाङ्कनको विषय छलफलमा नल्याएसम्म सदन चल्न नदिने अडान लिएका थिए ।

त्यसपश्चात सभामुखले संसदको कारबाही बढाउन लागेपनि रोस्टम अघि गएका सदस्यले नारा लगाएपछि आधा घण्टाका लागि भन्दै बैठक स्थगित भएको थियो । साँझ पुनः ७ः३० बजे अर्को बैठक शुरु गरिएसँगै प्रतिपक्षीले पुनः बैठक अवरुद्ध गरपछि दोस्रो पटक समेत बैठक आधा घण्टाका लागि स्थगित भयो ।

त्यसपछि तेस्रो पटक शुरु बैठकमा प्रतिपक्षीको नाराबाजी र अवरोधका बाबजुत मार्सल लगाएर बैठक गरिएको हो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यसैगरी बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल शुरु भएको थियो ।

कांग्रेसका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले प्रदेशको नामाङ्कन तथा राजधानी सम्बन्धमा यही जेठ २१ गते बैठकमा टेबुल भएको विषयलाई छलफलमा नल्याई अन्य विषयलाई छलफलमा ल्याइएकाले आफूहरू बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।

सत्तापक्ष एवं सभामुखले जबरजस्ती रुपमा प्रतिपक्ष उठिसकेपछि मार्सल लगाएर बैठक सञ्चालन गर्नु संसदीय मान्यताको विपरीत भएको बताउँदै उहाँले सत्तापक्षको यो प्रयास भत्र्सनायोग्य भएको टिप्पणी गरे ।

(रासस)

प्रकाशित समय ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु