गृहपृष्ठ थाइल्याण्ड : गुफामा फसेका चार किशोरको उद्धार

थाइल्याण्ड : गुफामा फसेका चार किशोरको उद्धार

उत्तरी थाइल्याण्डको एउटा गुफाभित्र फँसेका १२ थाइ किशोरमध्ये चार जनालाई सकुशल निकालिएको छ । स्थानीय समयअनुसार आइतबार ५ : ४० मिनेटमा ती किशोरलाई बाहिर निकालिएको हो । अझै ८ किशोर र उनीहरुका फुटबल प्रशिक्षक गुफाभित्रै छन् ।

नयाँ एयर ट्यांकसहित सोमबार उनीहरुलाई निकाल्न उद्धारकर्मी गुफामा पस्ने भएका छन् । लगातार पानी परिरहेको र गुफामा पानीको सतह बढ्दै गएकाले जोखिम मोलेरै भए पनि उद्धार अभियान चलाइएको थियो ।

चिएङ्ग राईमन गभर्नर नारोङ्गसाक ओसोटानाकोर्नका अनुसार सोमबार बिहानदेखि फेरि अर्को चरणको उद्धार अभियान सुरु भएको छ । गुफामा फसेकाहरुको उद्धारका लागि ९० जना खटिएका छन् । त्यसमा ५० जना विदेशी छन् भने ४० जना थाइ हुन् । उद्धार गरिएका चार बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ किशोर र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए । चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निस्कने बाटो बन्द हुँदा फसेका थिए । उद्धारकर्मीमा विश्वका उत्कृष्ट ‘केभ डाइभर्स’ छन् । उनीहरुले गुफाको अँध्यारो तथा साँघुरो प्वालबाट फसेकाहरुलाई गुफाद्वारतिर ल्याएका छन् ।

उद्धारको पहिलो चरण आँकलन गरिएभन्दा चाँडो भएकाले आउँदा चरण पनि त्यस्तै हुने अपेक्षा गरिएको छ । तर, परिरहेको पानी र गुफामा बढ्दै गएको पानीको सतहले खतरा बढेको छ । यसले उद्धार कार्यमा कठिनाइ उत्पन्न हुने सक्ने बताइएको छ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु