गृहपृष्ठ अफगानिस्तानमा किन रोकिँदैन युद्ध ? यस्ता छन् पाँच कारण

अफगानिस्तानमा किन रोकिँदैन युद्ध ? यस्ता छन् पाँच कारण

अफगानिस्तान यद्धको चपेटामा परेको वर्षौं बितिसकेको छ । अमेरिका समर्थित सेना र तालिबान तथा अरू लडाकु समूहबीच हुने आक्रमणका समाचार दिनहुँजसो आउँछन् । दिनहुँ हुने आक्रमणमा सयौं मानिसले ज्यान गुमाउँछन् ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगान युद्धमा सन् २०१७ मा १० हजारभन्दा बढी मानिस मारिए र सन् २०१८ मा त्यो संख्या अझ बढ्न सक्छ । अफगानिस्तानमा वर्षभरमा सयौं आक्रमण हुन्छन् । साना–साना आक्रमणको तथ्यांक हिसाब राखी साध्य छैन ।

अफगानी नागरिक सधैं युद्धले त्रस्त छन् । तर, युद्ध रोकिने कुनै संकेतसम्म देखिँदैन । १७ वर्षअघि सन् २००१ मा अमेरिकाले आक्रमण गरेपछि अफगानिस्तान थप युद्धको भूमरीमा फसेको हो । यसबीचमा कति मूल्यको भौतिक सम्पत्ति क्षति भयो, यसको यकिन तथ्यांक कुनै निकायसँग छैन ।

ओसामा बिन लादेन खोज्ने बहानामा सुरू भएको अमेरिकी आक्रमणले अफगानिस्तान युद्धको दलदलमा फसेको हो । त्यसयता, चर्किएको संघर्ष र निरन्तरको आक्रमणले अफगानिस्तानको स्थिति जटिल बन्दै गएको छ भने अफगानी पीडाको जिन्दगी जिउन बाध्य बनेका छन् ।

तालिबान लडाकु र अमेरिका तथा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) समर्थित अफगान सरकार दुवै पक्षले प्रदेशहरूमाथिको आफ्नो पकड जमाउने प्रयत्न गरिरहँदा संघर्ष चर्किरहेको छ । आक्रमण जारी रहँदा निर्दोष नागरिक ज्यान गुमाउन बाध्य छन् ।

अफगानिस्तानमा संघर्ष चर्किनुका पाँच प्रमुख कारण

१. सरकारी फौज र लडाकु दुवै पक्ष आ-आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन् ।

२. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ । एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए । अहिले तिनीहरूको संख्या ६० हजार पुगिसकेको अनुमान छ ।

३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ । पछिल्ला हिंस्रक आक्रमणको सोही समूहले जिम्मेवारी लिने गरेको छ ।

४. त्यसपछि वार्ताको कुराले महत्त्व पाएको हो । तर, तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ ।

५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ । अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन् ।

(बिबिसीबाट)

प्रकाशित समय ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु