गृहपृष्ठ फिलिपिन्समा पहिरो, १२ को मृत्यु, दर्जनौं वेपत्ता

फिलिपिन्समा पहिरो, १२ को मृत्यु, दर्जनौं वेपत्ता

philipince-newskarobar

फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौं मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।

फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेको घाउ निको हुन नपाउँदै मनसुन वर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् ।

फिलिपिन्समा हालै आएको म्यांकुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् ।

बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् ।

आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताए । उनका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौं स्थानीयहरू पसेका छन् ।

इकाभेजले एएफपीसँग भने, ‘मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।’

प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, ‘पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान छ ।’

घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् ।

उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु