गृहपृष्ठ ८५ वर्षीया महिला जो दैनिक ३५ किलोमिटर साइकल चलाउँछिन्
८५ वर्षीया महिला जो दैनिक ३५ किलोमिटर साइकल चलाउँछिन्
नेपालीहरुको औषत आयु ७० को हाराहारीमा छ । नेपालमा मात्र होइन विश्वका धेरै राष्ट्रमा ८५ वर्षको मानिसलाई अशक्त मानिन्छ । उनिहरुलाई आराम गर्न भनिन्छ । स्वास्थ्यमा गडबढी भइरहने ठानिन्छ ।
तर, ८५ वर्षीय उमेरमा पनि कसैले दैनिक ३० किलोमिटर साइकल चलाउँछ भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ । तर, यो वास्तविकता हो । त्यतिमात्र नभई उनि दैनिक पैदलयात्रा पनि गर्छिन् । धेरैलाई लाग्छ यो त अति भयो । तर, वास्तवमा भारतकी ति ८५ वर्षीया महिलाको पछिल्लो ५० वर्षको दिनचर्या हो यो ।
पत्रकार रीतेश पान्डेयले भारतीय न्युज च्यानल जागरण डट कमका लागि तयार पारेको रिपोर्टमा यस्तो खुलासा गरिएको छ । पान्डेयले ति ८५ वर्षीया वृद्धाको बारेमा रिपोर्ट तयार पारेका छन् जसले दैनिक ३५ किलोमिटर साइकल चलाउनुका अलावा लामो दुरीको पैदलयात्रा गर्छिन् । उनी अहिले पनि स्वस्थ रहेको र त्यसको ‘राज’ उनको दिनचर्या भएको उक्त रिपोर्टमा जनाइएको छ ।
भारतको छत्तिसगढस्थित बस्तर सम्भागको हाटकचौरा क्षेत्रकी विजयलक्ष्मी अरोरा ८५ वर्षकी भइन् । तै पनि उनी दैनिक आश्चर्यजनक दुरी साइकल चलाउँछिन् । सन् १९५२ मा आयुर्वेद चिकित्सक सुदर्शन पालसँग उनको विवाह भयो । सन् १९६८ मा विजयलक्ष्मी विरामी भइन् । सुदर्शनले उनलाई गोरखपुरस्थित आरोग्धाम लगे । त्यहीँबाट सुरु भयो उनको साइकल यात्रा ।
त्यसबखत विजयलक्ष्मीलाई चिकित्सक डा. केके मोदीले नियमित व्यायाम गर्ने सल्लाह दिए । सोही समयदेखि उनले व्यायाम गरेर जीवनभर ‘फिट’ रहने लक्ष्य लिइन् र साइकलाई आफ्नो साथी बनाइन् । उक्त समयदेखि सुरु भएको उनको साइकल यात्रा आजसम्म पनि जारी छ ।
अचम्मको कुरा के भने, उनी त्यसयता आफू बिरामी नभएको बताउँछिन् । उनी भन्छिन् मेरा सबै दाँत पनि ठिकठाक छन् । यसको श्रेय उनी आफ्नो दिनचर्यालाई दिन्छिन् ।
सुरुवाती अप्ठेरो
विजयलक्ष्मीलाई आफ्नो यो दिनचर्या सुरु गर्न सहज भने थिएन । सुरुवातमा बुहारी, नाती–नातिनी, छिमेकी, सबै उमेर समूहका महिलाले उनलाई यसो गर्नबाट रोक्न खोजे । तर, उनले कसैको परवाह गरिनन् र साइकल चलाएरै छाड्ने अठोटमा दृढ रहिन् । अचेल उनी ‘साइकलवाली हजुरआमा’का रुपमा चर्चित छिन् ।
विजयलक्ष्मीको दिनचर्या
उनको दिनचर्याको पनि चर्चा गरिएको उक्त रिपोर्टमा उनी विहान ४ बजे उठ्ने गरेको उल्लेख छ । त्यसपछि विहान ५ बजेदेखि ७ बजेसम्म दैनिक पैदल हिन्छिन् । त्यसपछि नास्ता गर्ने र एक घण्टा आराम उनको दिनचर्यामा समावेश छ । त्यसपछि उनी साइकल लिइर निस्कन्छिन् र दिउँसो घर फर्किन्छिन् । त्यसपछि खाना खान्छिन् र विश्राम गर्छिन् । साँझको समयमा फेरि पैदल हिन्छिन् । यसप्रकार उनी विहान र बेलुका लामो दुरी पैदल हिड्नुका साथै ३५ किलोमिटर साइकल चलाउँछिन् ।
उनका पतिको मृत्यु भइसकेको छ भने जेठो छोरोको पनि ६५ वर्षको उमेरमा एक पहिले मृत्यु भएको छ । धेरै मानिस यो उमेरमा अशक्त र बिरामी हुन्छन् तर, विजयलक्ष्मी अहिले ‘रोल मोडल’ भएकी छन् ।
विजयलक्ष्मीको बुझाइमा अहिलेको पुस्ता स्वास्थ्यको बारेमा सचेत छैन । आधुनिक सुख सुविधाले नयाँ पिँढीलाई विलासी बनाएको छ । उनीहरु न पैदल हिन्छन न कुनै शारीरिक व्यायाम गर्छन् । जसका कारण उनीहरुको रोगप्रतिरोधी क्षमता घटीरहेको छ । उनी युवा पिँढीलाई सन्देश दिन्छिन् भलै साइकल नचलाउनुस् तर पैदल यात्रा र व्यायाम नियमित रुपमा गर्नुस् ।
प्रकाशित समय १८:३७ बजे

















