गृहपृष्ठ मोदी विजयका सम्भावित अवरोध
मोदी विजयका सम्भावित अवरोध
जति जति निवर्वाचनको मिति नजिकिँदो छ भारतीय राजनीति उति नै गर्माएको छ । सन् २०१४ को निर्वाचनमा ठूलो विजय हाँसिल गर्दै सत्ताको सिँढी उक्लिएको भारतीय जनता पार्टीको लोकप्रियता तुलनात्मक रूपमा खस्किएको भन्ने विश्लेषणका कारण पनि यो निर्वाचनलाई अझ बढी चासोका साथ हेरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूमा निर्वाचन, निर्वाचन प्रचार प्रसार, सम्भावित परिणाम र परिणामलाई प्रभाव पार्न सक्ने पक्षहरूका समाचारले प्राथमिकता पाएका छन् । यसको अर्थ भारतीय राजनीतिलाई एक हदसम्म निर्वाचन लागीसकेको छ ।
त्यसोतः यो निर्वाचनमा पनि सन् २०१४ कै जस्तो प्रभावशाली रूपमा भाजपा आउने सम्भावनालाई कतिपयले विश्वास गर्न सकिरहेका छैनन् । तर, कांग्रेस आईले भाजपालाई उछिन्छ भन्नेमा पनि धेरैको आशंका छ । जसले निर्वाचन परिणाममा थप रोचकता थपेको छ ।
कांग्रेस कार्ड
निर्वाचन नजिकिँदै गर्दा कांग्रेस आईले प्रियंका गान्धीलाई पार्टीमा भित्र्यायो । यसअघिका निर्वाचनमा सोनिया गान्धी र राहुल गान्धीको प्रचारमा खटिने प्रियंका यो निर्वाचनमा भने स्वयं सक्रिय राजनीतिमा आइसकेकी छन्, त्यो पनि पार्टीको महत्वपूर्ण महासचिवको जिम्मेवारीसहित ।
यो पनि पढ्नुहोस् ।
भारतमा प्रियंकालाई लोकप्रिय मानिन्छ । उनमा इन्दिरा गान्धीको झलक देखिने कतिपयले बताउँदै आएका छन् । सम्भवतः निर्वाचनमा यसैको उपयोग गर्नका लागि कांग्रेस आईले उनलाई पार्टीमा भित्र्यायो, महासचिव बनायो र उत्तर प्रदेशको जिम्मेवारी दियो । उत्तर प्रदेशमा भाजपाका योगी आदित्यनाथले सरकारको नेतृत्व गरिरहेका छन् ।
भाजपालाई तीन नेतृको चुनौति
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले हालैमात्र तयार पारेको एक विश्लेषण भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित भएको छ । जसमा तीन जना महिला नेतृ भाजपाका लागि चुनौति बन्न सक्छन् ? भन्ने कोणबाट विश्लेषण गरिएको छ ।

त्यसो त समकालीन भारतीय राजनीतिमा भाजपा भारतको सबभन्दा शक्तिशाली पार्टी हो । त्यसैले उसका विपक्षमा वा उसलाई चुनौति दिने गरी गठबन्धन निर्माण हुनुलाई अनौठो मानिरहनु आवश्यक छैन ।
तर, भाजपाले नेतृत्व गरिरहेको गठबन्धन- एनडिए २०१९ मा पनि सन् २०१४ कै पुनरावृत्ति गराउन प्रयत्नशील रहँदा विपक्षी उसलाई हराउन प्रयासरत हुन्छन् । यस संघर्षमा यस्ता पक्षले पनि अर्थ राख्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।
उक्त विश्लेषण अनुसार भारतीय राजनीतिकी शक्तिशाली महिला प्रियंका गान्धी, ममता बनर्जी तथा मायावती भाजपाका लागि चुनौति हुन सक्छन् । बनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री हुन् भने मायावती उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री हुन् ।
यी तीन नेतृ एक भएमा भाजपालाई ठूलै चुनौती दिनसक्ने अनुमान गरिएको छ । यी तीन नेतृहरू मिलीसकेका भने छैनन् । यद्यपी मिलेर निर्वाचनमा होमिने पक्षमा चर्चा भने सुरू भएको छ ।
यी तीन नेतृ मिलेमा भाजपाले नेतृत्व गरिरहेको वर्तमान भारतीय सत्तालाई कस्तो असर पर्छ ? भन्ने केही समय पहिले भाजपा छाडेका यसवन्त सिन्हाको भनाइले पनि प्रष्ट पार्छ । पूर्ववित्तमन्त्री समेत रहेका ८१ वर्षिय सिन्हाले भाजपा नेतृत्वको एनडिए भन्दा विपक्षीसँग प्रभावशाली महिला रहेको बताएका थिए ।
जसको अर्थ पछिल्लो समय खस्केको भनिएको भाजपा नेतृत्वको सरकारको लोकप्रियतालाई यी तीन नेतृले थप चुनौति दिन सक्छन् भन्नेहरूको पक्षमा निर्वाचन परिणाम आउन सक्ने सम्भावनालाई यसले थप बल दिएको छ ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित समय २१:१० बजे

















