गृहपृष्ठ धनुषामा लैंगिक समानता नीतिसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

धनुषामा लैंगिक समानता नीतिसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

gender-violence-newskarobar

धनुषाको मिथिला नगरपालिकामा लैंगिक समानता नीति तयारीका लागि दुईदिने कार्यशाला सम्पन्न गरेको छ । लैंगिक विभेदको अन्त्य गर्दै सबैका लागि सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले लैंगिक समानता नीति तयार गर्न लागेको मिथिला नगरपालिकाका उपप्रमुख तारालामा बस्नेतले जानकारी दिइन् ।

दुईदिने कार्याशालामा समानता, लैंगिक समानता, सामाजिक न्याय र मानवअधिकारका विषयमा व्यापक छलफल गर्दै संविधानतः सुनिश्चित भएका व्यक्तिको मौलिक हक विशेष गरी संविधानले सुनिश्चित गरेको समानताका हक (धारा १८) र सामाजिक न्यायको हक (धारा ४२) को स्थानीय तहमा कार्यान्वयनका लागि कस्ता रणनीति तथा कार्यक्रम हुन जरुरी छ भन्ने विषयमा व्यापक छलफल भएको छ ।

लैंगिक विभेदमा आधारित हिंसा अन्त्यका लागि मिथिला नगरपालिकाले प्रचलनमा रहेको हानिकारक परम्परागत अभ्यासविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्ने, अबको तीन वर्षमा पालिकालाई लैंगिक हिंसामुक्त पालिका रुपमा घोषणा गर्ने गरी कार्य गर्ने, बालविवाह तथा लैंगिक विभेदमा आधारित हिंसाको अन्त्यका लागि युवा, आमा समूह तथा समुदायमा रहेका सामुदायिक संघसंस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने, हिंसा प्रभावितका लागि सहयोगी संयन्त्रहरु ः मनोपरामर्श केन्द्रको स्थापना, सुरक्षित आवासको स्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने, महिलाको आर्थिक सशक्तीकरण प्रवर्धन गर्ने कार्यक्रम निर्माण गर्ने योजना तयार गरेको छ । पालिकाले तयार गरेका यी योजनालाई लैंगिक समानता नीतिमा समावेश गरी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनप्रतिनिधिले जनाएका छन् ।

कार्यशालामा मिथिला नगरपालिका उपप्रमुख, कार्यपालिका सदस्य, ११ वटा वडाका वडाध्यक्ष र वडा सदस्यहरु, पालिकाका महिला विकास, योजना, स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि र महिला अधिकारकर्मी गरी ४५ जनाको सहभागिता थियो । कार्याशाला मिथिला नगरपालिकाले ओरेक नेपालसँगको समन्वयमा आयोजना गरेको हो । दुईदिने कार्यशालालाई ओरेक नेपालका वरिष्ठ कार्यक्रम संयोजक सविता पोखरेल र महिला हिंसाविरुद्धको अभियान संयोजक सञ्जिता तिम्सिनाले सहजीकरण गरेको आरेक धनुषाका कार्यक्रम संयोजक रोजलिन सिंह बछारले जानकारी दिए ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु