गृहपृष्ठ इन्द्रजात्रा हेर्न ४८ विदेशी जनप्रतिनिधि आउने
इन्द्रजात्रा हेर्न ४८ विदेशी जनप्रतिनिधि आउने
फाइल तस्बिर
इन्द्रजात्रा अवलोकनका लागि पहिलोपटक विभिन्न ६ देशका ४८ जना जनप्रतिनिधि आउने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी इन्द्रजात्रा हेर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगर प्रमुखसहित ४८ जना आउने भएकत्र जानकारी गराएको हो ।
चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंग्लादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्टदिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउँदै छ ।
त्यस्तै चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउँदै छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनप्रतिनिधि जात्रा अवलोकनका लागि आउनुले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताए । उनले जात्रामा अन्तर्राष्ट्रिय पाहुना बोलाउँदा महानगरको खर्च बढ्ने नभई यस्तो भ्रमणले नेपाललाई फाइदा पुग्ने स्पष्टीकरण दिए ।
शुक्रबारको इन्द्रजात्रा अवलोकनका लागि बिहीबार नै विदेशी पाहुना नेपाल आइसक्ने महानगरपालिकाले जनाएको छ । अतिथिलाई उपत्यकाका सांस्कृतिक तथा ऐतिहासिक सम्पदा अवलोकन गराउने कार्यक्रम छ । उनीहरुलाई काठमाडौं महानगरको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरि क्षेत्रको अवलोकन भ्रमण अवलोकन गराउने योजना रहेको नगर प्रमुख शाक्यले जानकारी दिए ।
आइतबार महानगरका भगिनी सम्बन्ध भएका सहरहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि निमन्त्रणा दिएर उनीहरुको बिदाइ गरिने महानगरले जनाएको छ ।
प्रकाशित समय १३:०७ बजे
















