गृहपृष्ठ आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौ

आज महाशिवरात्रि पर्व । आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाउने परम्परा छ ।

यो पर्व नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइन्छ । यस दिनलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु ऋाज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णन गरिएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिले सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने विश्वास छ । आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु