गृहपृष्ठ केयूकेएलकै पानी दूषित
केयूकेएलकै पानी दूषित
![](https://archive.newskarobar.com/wp-content/uploads/2018/01/Tap_Kathmandu.jpg)
काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सीधै पिउनयोग्य भन्दै फिल्टर नै नगरेको पानी बिक्रीवितरण गरेको पाइएको छ । केयूकेएलको ललितपुर सैंबु शाखाबाट नीलो रङको स्टिकर प्रयोग गरिएको बा२ख १३९४ नम्बरको ट्यांकरले धमाधम फिल्टर नगरेको पानी बेचिरहेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पिउनयोग्य पानी बिक्रीवितरण गर्ने ट्यांकरमा प्रमाणस्वरूप नीलो रङको स्टिकर लगाइदिन्छ । केयूकेएलद्वारा सञ्चालित १३ वटा ट्यांकरमा यस्तो स्टिकर छ । नीलो रङको स्टिकर पाएका ट्यांकरले सीधै पिउनयोग्य पानी बिक्री गर्न पाइने कानुनी प्रावधान छ । सैंबुस्थित कलेक्सन चेम्बर (मुहानबाट पानी ल्याई जम्मा गरिएको ठाउँ) मा पानी फिल्टर गरिएको छैन । सैंबुस्थित चेम्बरमा बुङमती फर्सिडोलको डिप बोरिङ र फर्पिङ मूलडोलको पानी जम्मा गरिन्छ ।
केयूकेएलले महाराजगन्ज र महाँकालस्थित चेम्बरको पानी पनि ट्यांकरमार्फत बिक्री गर्ने गरेको छ ।
ट्यांकर सेवा सञ्चालन निर्देशिका, ०७३ अनुसार नीलो रङको स्टिकर प्रयोग गर्ने ट्यांकरको हकमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, ०६२ बमोजिम मापदण्ड पूरा गरेको हुनुपर्छ । हरियो स्टिकर प्रयोग गर्ने ट्यांकरले बोक्ने घरेलु प्रशोधन गरेर वा उमालेर मात्र पिउनुपर्ने अथवा पानी घरायसी प्रयोजनको पानी भन्ने बुझिन्छ । पिउनबाहेक अन्य प्रयोजन भान्साको प्रयोगबाहेक सरसफाइ, घर निर्माणलगायत कार्यको हकमा पहेंलो रङको स्टिकर प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ ।
बोर्डका इन्जिनियर बोधराज दाहालले केयूकेएलले फिल्टर गरेको पानी मात्र बिक्री गर्ने गरेको दाबी गरे । ‘केयूकेएलको आफ्नै छुट्टै फिल्टर प्लान्ट पनि छ,’ उनले भने ।
उपत्यकामा सरकारी र निजी गरी दुई किसिमका खानेपानी ट्यांकर सञ्चालित छन् । निजी क्षेत्रका पानी सप्लायर्सले मापदण्डअनुसार ट्यांकरले बोक्ने पानीको वर्गीकरणका आधारमा गाडीमा स्टिकर टाँसेको हुनुपर्छ । तर लगनखेल र पुल्चोकमा भेटिएका क्रमश: बा३ख ११६६ र बा२ख ६९०६ नम्बर ट्यांकरमा सप्लायर्सकै नाम देखिएन । खानेपानी व्यवस्थापन बोर्डबाट जारी निर्देशिकाअनुसार ट्यांकरको दुवै साइड र पछाडिको भागमा सप्लायर्सको नाम, फोन नम्बर, प्रयोजन, अनुमतिपत्र र क्षमता उल्लेख गर्नुपर्छ ।
खानेपानी उद्यमी तथा व्यवसायी संघ, सातदोबाटोका अध्यक्ष उज्ज्वल शाक्यले उक्त ट्यांकर व्यवसायीलाई संघमा आबद्ध आउन अनुरोध गर्दा पनि अटेर गर्ने गरेको बताए । ‘त्यस्ता व्यवसायीलाई नियमन गर्ने निकायले कारबाही गर्नुपर्छ,’ उनले भने । यसले उपभोक्ताले पिउनयोग्य वा घरायसी प्रयोजनका लागि भन्ने कुरा पानी व्यवसायीले भनेका भरमा विश्वास गर्नुपर्ने बाध्यता छ । बोर्डले गरेको अनुगमनमा पनि निजी ट्युबवेल तथा ट्यांकरहरू अवैध भेटिने गरेका छन् । प्रत्येक महिना अनुगमन हुन्छ तर कारबाही भने हुने गरेको छैन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजीव जोशीले उजुरी परे मापदण्डविपरीतका पानी व्यवसायीलाई कारबाही गरिने बताए ।
प्रकाशित समय ०५:३४ बजे