गृहपृष्ठ विष्णु पौडेलले राजीनामा देलान् ?

विष्णु पौडेलले राजीनामा देलान् ?

'राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्छ '

धेरैले नेकपा महासचिव विष्णु पौडेललाई तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको घटनासँग दाँजिरहेका छन् । तत्कालीन मन्त्री तामाङले बंगलादेशमा डाक्टरी पढ्न गएका चेलीबारे गरेको टिप्पणी विवादमा परेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

त्यसो त, तामाङले राजीनामा दिएको विषय तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पनि नजोडिएको होइन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन हुनुअगाडि ‘वाइडबडी काण्ड’ निकै चर्चामा थियो । घोटालामा अरु जो–जो भए पनि बहालवाला मन्त्री विवादमा तानिएपछि राजीनामा दिनुपर्ने कुरा एउटा वृत्तबाट जोडतोडका साथ उठ्यो ।

सरकारले भने आलोचकहरुलाई बल पुग्ने गरी आफ्नै प्रभाव राख्दै छानविन समिति बनायो र विवाद थप बढायो । आखिर त्यो घटनामा नेकपाकै मात्र नेता जोडिएका थिएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता पनि त्यसमा मुछिएका थिए । तर, सरकारले त्यसलाई ढाकछोप गर्ने प्रयास गर्यो । जसले गर्दा घोटालामा नाम जोडिएका स्व. अधिकारी आलोचित बन्न पुगे । उनी कति निर्दोष थिए, त्यसलाई प्रमाणित गर्न छाडेर छानविन नै प्रभावित पार्ने खेलमा सरकार लाग्दा कुनैबेलाका अत्यन्तै लोकप्रिय नेता अधिकारी एकाएक आलोचनाको शिकार बने ।

अहिले फेरि नेकपाका महासचिव विष्णु पौडेल आलोचित बन्न पुगेका छन् । काठमाडौंको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको प्रकरणमा उनी विवादित बनेका हुन् । यो घटनामा आलोचकमात्रै होइन, नेकपाकै केही नेता पौडेलमाथि कारबाही हुनुपर्ने पक्षमा देखिएका छन् । तर, सरकारले फेरि पनि पौडेललाई बचाउन हतार गरिहाल्यो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विष्णु पौडेल ठगिएको भन्दै उनलाई पीडित करार गरिदिए । जसले गर्दा सरकारको तर्फबाट पौडेलले ‘क्लीन चिट’ पाए पनि जनताको नजरमा ‘दाल मे कुछ काला हैं’ भन्ने खालको संशय पैदा गरिदिएको छ । जुन संशय सामाजिक सञ्जालमा स्पष्ट रुपमा छरिएको छ । त्यसो त नयाँ वर्षको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारी जग्गामा कसैले आँखा लगाउन पाउँदैन, सबै फिर्ता हुन्छ, संलग्न कसैले छुट पाउँदैन’ भन्दै गरेको भाषणमा कतिपयले ट्रोल बनाउन थालिसकेका छन् ।

हुन त पौडेलले ललिता निवासको जग्गा प्रकरणको खुलासा भएलगत्तै विज्ञप्ति निकालेर आफूले कानुनबमोजिम उक्त जग्गा खरीद गरेको दाबी गरेका छन् । स्पष्ट छानविन नभई उनलाई दोषी मान्न पनि अलि हतार होला । तर, यत्रो ठूलो बदमासीमा जोडिएपछि राजीनामा दिएर छानविनको बाटो खुला गर्नुपर्ने पक्षमा भने नेकपाकै केही नेता उभिएका छन् । अर्काथरीले चाहिँ विष्णु पौडेलले वास्तवमै पैसा हालेर जग्गा किनेका हुन् वा सेटिङ मिलाएबापत् प्राप्त गरेका हुन् भन्ने कुरामा छानविन केन्द्रित हुनुपर्ने कुरा पनि गरिरहेका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले महासचिव पौडेललाई जोगाउने खेलमा लागे पार्टीलाई ठूलै हानी हुने बताएका छन् । भू–माफियालाई जग्गा मिलाइदिए वापत् पौडेलले उक्त जग्गा प्राप्त गरेको स्पष्ट भइसकेको नेकपाकै नेताहरु बताउँछन् । सीआइबी र अख्तियारले महासचिवमाथि छानबिन गरिरहेकोले उनले राजीनामा दिएर छानबिनको बाटो सहज बनाइदिनुपर्ने माग नेकपा वृत्तमा उठिरहेको नेता चौधरीको भनाइ छ । ‘उहाँले राजीनामा दिनुहुन्न भने पार्टीले निलम्बन गर्नुपर्छ,’ चौधरीले भने ।

लामो समयदेखि विवादित जग्गा पौडेलले किनेका थिए । २०६१ सालमा प्रतिआना ५० हजारका दरले आठ आना जग्गा उनले किनेका रहेछन् । यद्यपि, धेरैले चाहिँ के आशंका गरेका छन् भने, सत्ता र शक्तिको नजिक रहने उनले भू–माफियाको नाममा सरकारी जग्गा नामसारी गर्न सहयोग गरेबापत त्यो जग्गा पाएका हुन् ।

नेकपा नेता भीम रावलले पनि महासचिवबाट गल्ती भएको बताएका छन् । उनले भनेका छन्, ‘यसबारे थप तथ्यहरू संकलन भइरहेको छ, त्यसपछि के गर्ने बोलौंला ।’

एउटा सरकारी छानबिन समितिले प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास रहेको सरकारी जग्गा समेत व्यक्तिको नाममा नामसारी भएको प्रतिवेदन बुझाइसकेको छ । जसमा सरकारी जग्गा विभिन्न व्यक्तिहरूले एकपछि अर्को गर्दै बेचेको उल्लेख छ ।

नेकपा बैठकमा उठ्ला यो विषय ?

नेकपा सचिवालय बैठक यही चैत ९ गते बस्ने तयारी रहेको नेताहरुले बताएका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन पार्टीको संगठनात्मक एकता टुंग्याउने तयारीस्वरुप बस्ने बैठकमा पौडेलको विषयमा छलफल होला त ? केन्द्रीय सदस्य मेटमणि चौधरी भन्छन्, ‘पार्टीलाई जनताले गरेको विश्वास र भरोसालाई जोगाइराख्ने हो भने स्वच्छ बहस हुनुपर्छ । दोषी जो सुकै भए पनि कारबाही गर्नुपर्छ ।’

ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले छानविन गरिरहेका छन् । ललिता निवासले चर्चेको जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतका अनुसार नेकपा महासचिव पौडेलले भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं व्यापारी मीनबहादुर गुरुङ र भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमार्फत ८ आना जग्गा किनेका हुन् ।

केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा ८ आना जग्गा रहेको विवरण उल्लेख छ । २०६० सालमा ललिता निवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणाबाट गुरुङ, ढकाल र सुवेदीले ६३ रोपनी जग्गा किनेको खुल्न आएको छ ।

देशकै ठूलो पार्टीका महासचिव एवं पूर्वमन्त्री पौडेल यति ठूलो र गम्भीर प्रकरणमा तानिएपछि उनको राजीनामाको माग आउनु अस्वाभाविक कुरा नभएको विश्लेषकहरु बताउँछन् । तर, एउटा विज्ञप्ति निकालेर स्पष्टिकरण दिएका महासचिव पौडेल मिडियामा आउन चाहेका छैनन् ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु