गृहपृष्ठ स्मार्ट लाइसेन्स पाउनै १० महिना
स्मार्ट लाइसेन्स पाउनै १० महिना
बुटवल– अर्घाखाँचीको भुमेकास्थान नगरपालिका–४, धारापानीका बाबुराम भुसालको पुरानो सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को म्याद २०७४ मंसिर १७ गते सकियो । म्याद सकिएपछि लाइसेन्स नवीकरण गर्न यातायात कार्यालय बुटवल आए । सुरुका वर्षमा झैं स्वास्थ्य परीक्षण गरेर उनले नगद तीन हजार राजस्वसमेत बुझाए ।
२०७४ पुस २५ गते कार्यालयमा आएर सबै प्रक्रिया पूरा गरेका भुसालको स्मार्ट लाइसेन्स अझै बनेको छैन । ‘तीन महिनापछि लाइसेन्स लिन आउनू भन्दै राजस्व तिरेको रसिद थमाएका थिए, ६ महिना बित्दा पनि बनेको छैन,’ उनले भने ।
भुसाल प्रतिनिधि पात्रमात्रै हुन् । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयमा ४४ हजार सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिएर बसेका छन् । तीन महिनामा आउँछ भनेको लाइसेन्स १० महिनासम्म नआउँदा सेवाग्राही चिन्तित छन् । लामो समयमा बिल बोकेर हिँड्नुपर्दा सेवाग्राही झन् समस्यामा पर्ने गरेका छन् । ‘बिलसमेत लेमिनेसन गरेर हिँडेको छु,’ सवारी चालक बाबुराम थापा भन्छन् ।
सवारी चालक अनुमति पत्र कार्यालय बुटवलका प्रमुख वेदप्रकाश अर्यालका अनुसार भदौदेखि यता नयाँ स्मार्ट लाइसेन्स कार्यालयमा आएकै छैन । ‘करिब ४४ हजार स्मार्ट लाइसेन्सका लागि काठमाडौं पठाएकोका हालसम्म तीन हजार तीन सय ९९ वटा लाइसेन्समात्र आएका छन्,’ उनले भने, ‘विगतमा तीन–तीन महिनामा लाइसेन्स आइरहेकोमा अहिले १० महिनादेखि आएको छैन ।’ केन्द्रबाट लाइसेन्स प्रिन्टको टेन्डरलगायतमा ढिलाइ हुँदा देशभर लाइसेन्स वितरण प्रभावित भइरहेको प्रमुख अर्याल बताउँछन् ।
सरकारले आर्थिक वर्ष २०७३/७४ देखि स्मार्ट लाइसेन्स अनिवार्य गरेको छ । तर, लाइसेन्स प्रिन्टिङ र वितरण व्यवस्था प्रभावकारी बनाउन नसक्दा सेवाग्राहीले १० महिनासम्म कुर्नुपर्ने अवस्था छ । सवारी चालक अनमुतिपत्र कार्यालय लुम्बिनीका ४४ हजार लाइसेन्स बन्न बाँकी रहँदा बागमती अञ्चलन कार्यालय एकान्तकुनाका करिब करिब एक लाखभन्दा बढी लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
साउनदेखि प्रदेश स्तरबाटै लाइसेन्स प्रिन्टिङ र वितरण हुने भएकाले सहज हुने अपेक्षा गरिएको छ । (फाइल तस्बिर)
प्रकाशित समय १५:४१ बजे

















