गृहपृष्ठ फुटबलर अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ
फुटबलर अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ
काठमाडौं- नेपाली फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक अञ्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका छन् । अञ्जनसहित ६ जनालाई भारतको आईपीएल क्रिकेटसहित विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी गराएको हो । ललितपुरका स्थानीय बासिन्दा अञ्जनले हालै भारतमा सम्पन्न आईपीएल र यूईएफए च्याम्पियन्स लिगका खेलहरुमा सट्टेबाजी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा केसीसँगै काठमाडौं मैतिदेवीका गौरव तिवारी, काभ्रे भुन्डुका भुपेन्द्र शमशेर कुँवर, नुवाकोट ककनीका दिनेश बोगटी, भक्तपुर बोलाछेंका विजय श्रेष्ठ र भक्तपुर बोलाखुका नरेन्द्र सुवाल रहेको प्रहरीले जनाएको छ । ती सबैलाई सोमबार अपराह्न काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलका अनुसार सट्टेबाजी गराउने तिवारीको बैंक खातामा ७ करोड ४७ लाख, कुँवरको बैंक खातामा ३ करोड २२ लाख, अन्जनको बैंक खातामा २ करोड ७७ लाख र सुवालको बैंक खातामा ७७ लाख रुपैयाँ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाली राष्ट्रिय टोलीका फुटबल खेलाडी एवं ‘ए’ डिभिजन क्लब थ्रीस्टारको प्रशिक्षक भइसकेका अञ्जन २०७२ साल असोज २९ गते अन्तर्राष्ट्रिय फुटबलमा म्याच फिक्सिङको आरोपमा अन्य खेलाडीसहित पक्राउ परेका थिए । उनीहरुविरुद्धको मुद्दा अहिलेसम्म फैसला भएको छैन । तर, एएफसीले उनीलगायत अन्य तीन फुटबलरलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ ।
प्रकाशित समय १५:१६ बजे

















