गृहपृष्ठ समृद्धि सूचकांकमा नेपालको सुधार
समृद्धि सूचकांकमा नेपालको सुधार
शान्ति–सुरक्षामा नेपालको उल्लखेनीय फड्को
विगत एक दशकको अवधिमा विश्व समृद्धि सूचकांकमा नेपालले उल्लेखनीय सुधार गरेको छ । लन्डनमा रहेको लेगातम इन्स्टिच्युटद्वारा सोमबार सार्वजनिक ‘प्रोस्परिटी इन्डेक्स २०१९’ अनुसार नेपालले समग्र समृद्धि र्याङकिङमा सुधार गर्दै ११५ औं स्थानमा उक्लेको हो । यद्यपि, गत वर्ष सन् २०१८ को तुलनामा भने नेपाल एक स्थान खस्केको छ ।
सन् २००९ यता नेपालले १३ स्थान उक्लिसकेको छ । उक्त वर्ष नेपाल १२८ औं स्थानमा थियो । इन्स्टिच्युटले विभिन्न १२ आधारमा विश्वका १६७ मुलुकको समृद्धि मापन गर्दै आएको छ ।
नेपालले यस अवधिमा व्यक्तिगत स्वतन्त्रता र शान्ति–सुरक्षामा निकै उल्लेखनीय सुधार गरेको भए पनि बजार पहुँच र पूर्वाधारमा निकै कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । दशकअघिका तुलनामा नेपालले शान्ति–सुरक्षाका क्षेत्रमा निकै उल्लेखनीय फडको मारेको छ । सन् २००९ मा यो मात्र सूचकांकमा नेपालको अवस्था १५८ औं रहेकोमा हाल ७८ औंमा उक्लेको छ ।
यस्तै नेपालले शिक्षामा पनि उल्लेखनीय सुधार गर्ने मुलुकहरूको सूचीमा नेपाल सातौं स्थानमा परेको छ । यो सूचकांकमा नेपालले एक दशकको अवधिमा ११ औं स्थानमा फड्को मारेको प्रतिवेदनमा छ । यसबाहेक नेपालले व्यक्तिगत स्वतन्त्रता र अन्य सामाजिक पुँजीमा पनि सुधार गरेको छ ।
सूचकांकमा एसिया–प्रशान्त क्षेत्रबाट मंगोलिया सबैभन्दा उच्च ८७ औं स्थानमा छ भने दक्षिण एसियामा भारत १०१ औं, नेपाल ११५ औं , बंगलादेश १२७ औं र पाकिस्तान १४० औं, अफगानिस्तान सबैभन्दा पुछारमा १६३ औं स्थानमा छ ।
सूचकांकमा केही सुधार गरेको भए पनि नेपाल अझै पनि एसिया प्रशान्तका २९ मुलुकमध्ये २२ औँ गरिब मुलुकमा परेको छ ।
प्रकाशित समय १८:२१ बजे

















