गृहपृष्ठ यसरी मापन गरियो सगरमाथाको उचाइ

यसरी मापन गरियो सगरमाथाको उचाइ

Everest Hight_NewsKarobar

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक नेपाल आफैले, आफ्नै प्राविधिकहरू उपयोग गरेर मापन गरेको छ । सगरमाथाको उचाइ करिब १ मिटर बढेको  छ । नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको मंगलबार घोषणा गरिएको छ ।

भारतको सर्भे अफ इन्डिया (एसओआई) ले  यसअघि सगरमाथाको उचाइ आफूले नापेको भन्दै यस पटक पनि  उचाइ नाप्नका लागि नेपालसँग प्रस्ताव गरे पनि नेपाल सरकारले नेपाल आफैंले नै उचाइ नाप्ने निर्णय गरेको हो ।

दुई वर्षअघिबाट नेपालले उचाइ मापनको काम थालेपछि चीनले पनि गत वर्ष आफ्नो क्षेत्रबाट मापन थालेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपाल भ्रमणका समयमा संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ मापनका विषय जोडिएको थियो । सोहीअनुसार मंगलबार संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको हो ।

सन् १८४७ मा सर्भे अफ इन्डिया (एसओआई) अन्तर्गत ‘ग्रेट ट्रिगोनोमेट्रिक सर्भे (जीटीएस)का आर्मस्ट्रोङ्गले सगरमाथाको आधिकारिक रूपमा उचाइ मापन गरी ८७७८ मि. रहेको र यो संसारकै अग्लो शिखर रहेको तथ्य प्रकाशमा ल्याएका थिए । उनकै टोलीमा रहेका जर्ज एभरेस्टका नाममा यसको नामाकरण गरियो ।

सन् १८४९–५० मा एसओआईले सगरमाथाको नेपालतर्फ ‘फेसिङ साइट’ को उचाइ मापन गरी ८८४० मिटर निर्धारण गरेकोमा सन् १९५४ मा एसओआईकै बीउल गुलाटी नेतृत्वको टोलीले पुनः सगरमामथाको उचाइ मापन गरी ८,८४८ मिटर भएको निष्कर्ष निकालेको थियो ।

यसैगरी, चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङ (एबीएसएम)ले तिब्बत तर्फबाट सन् १९७५ मा सगरमाथाको उचाइ मापन गर्दा यसको उचाइ ८,८४८.१३ रहेको तथ्य प्रकाशमा ल्याएको थियो भने सन् २००५ मा सगरमाथाको चट्टान उचाइ (रक हाइट) ८,८४४.४३ मिटर रहेको भनी दाबी गरेको थियो ।

यस्तै, सन् १९९९ मा बोस्टन म्युजिएमर अफ साइन्स, अमेरिकाका प्रो ब्राड वासबर्नले जीपीएस प्रविधिको प्रयोग गरी सगरमाथाको उचाइ मापन गरी ८,८५० मिटर रहेको तथ्य प्रकाशमा ल्याएका थिए ।

फरक फरक समयमा फरक फरक प्रविधि र गणना विधि अपनाई सगरमाथाको फरक फरक उचाइ प्रकाशमा ल्याइए पनि यस पटक नेपालकै नापी विभाग आफैंले सगरमाथाको उचाइ नापेको हो ।

नेपालले आर्थिक वर्ष २०७४/७५ मा आफैले सगरमाथाको उचाइ नाप्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेपछि गत वर्षपछि अन्तिम समयमा आएर चीनले पनि उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो ।

सरकारको सोही कार्यक्रम अनुसार, नापी विभागले स्थलगत रूपमा प्रारम्भिक चरणको काम सुरु गरी २०७४ पुसको मध्यबाट काम सगरमाथाको उचाइको मापन कार्य सुरू गरेको हो ।

नापी विभागले सगरमाथाको उचाइ नाप्ने क्रममा २०७४ कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले यसअघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेका नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो ।

सोलुखुम्बुको ८ र खोटाङ तथा दोलखामा २-२ स्थानमा नियन्त्रण बिन्दु राखेर सगरमाथाको उचाइ मापन सुरु गरेको थियो । उचाइ मापनका लागि कुल १२ वटा नियन्त्रण विन्दु कायम गरिएका थिए ।

सिरहाबाट लेभलिङ

सगरमाथाको उचाइ मापन गर्ने क्रममा नेपाल–भारत सीमास्थित सिराहको माडरबाट नेपाली टोलीले लेभलिङको काम थालेको थियो गरेको छ । नेपाल–भारत सीमा नजिक सिराहाको माडरमा आधारभूत ‘फन्डामेन्टल डटम’ बिन्दु स्थापना गरेर थालनी भएको उचाइ मापनको काम २०७६ जेठ ८ गते शिखर आरोहण गरी १ घण्टा १६ मिनेटसम्म जीएनएसएस र जीपीएस विधिबाट गणना गरिएको विभागले जानकारी दिएको छ ।
नापी विभागको टोलीले सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, चुल्यामु र पिकेसम्म करिब २४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि ३४६ स्टेसनबाट सर्भे गरी तथ्यांक संकलन र प्रशोधन गरेको हो।

यो पनि पढ्नु होस्ः

यसरी हुँदैछ सगरमाथाको उचाई मापन

यसरी हुँदैछ सगरमाथाको उचाई मापन

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु