गृहपृष्ठ ट्राफिक नियम उलंघनमा १ हजार ६२८ चालक कारबाहीमा, महिलामाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ
ट्राफिक नियम उलंघनमा १ हजार ६२८ चालक कारबाहीमा, महिलामाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने १ हजार ६२८ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट ११ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कारबाहीमा पर्नेमा सबैभन्दा बढि जथाभावि यात्रु चढाउने तथा ओराल्ने बस र माइक्रोबस चलाक ३२६ जना छन् । यस्तै लेन अनुशासन पालाना नगर्ने २६९, निषेधित क्षेत्रमा पार्किङ गर्ने १३७, मादक पदार्थ सेवन गरेर चलाउने ६५, अनावश्यक हर्न प्रयोग गर्ने ४७, जेब्राक्रासमा रोक्ने ४२ र भाडाका कार चालक ११ जना चालक पनि कारबाहीमा परेका छन् ।
उपत्यकामा २४ घण्टामा २२ वटा सवारी दुर्घटना हुँदा १ जना गम्भिर र १२ जना समान्य घाइते भएका छन् । यसैबीच विभिन्न नाका भएर उपत्यकामा १० हजार ५०६ गाडीमा ७५ हजार ७३३ यात्रु भित्रिँदा १० हजार ८८ गाडीमा ६९ हजार १६१ यात्रु बाहिरिएका छन् ।
यसैबीच, सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बा ४ ख ९०७७ नम्वरको बसमा यात्रा गरेकी नवलपरासी घर भई बानेश्वर बस्ने २३ बर्षिय युवतीलाई माइतीघर मण्डलामा दुर्व्यवहार गरेको आरोपमा दोलखाका निर्मल थापा पक्राउ परेका हुन् । बसभित्र महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थापालाई महानगरिय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।
प्रकाशित समय १७:१३ बजे