गृहपृष्ठ सुनुवाइ समितिको विरोध गर्नु संविधानको अपमान हो : रायमाझी
सुनुवाइ समितिको विरोध गर्नु संविधानको अपमान हो : रायमाझी
सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कृष्णजंग रायमाझीले जननिर्वाचित संस्था संसदको बदनाम गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछिका सार्वजनिक टिका– टिप्पणीप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
न्यायालयमा राजनीतिक हस्तक्षेप भयो भनेर आरोप लगाउँदै जननिर्वाचित संस्था संसदको अपमान गर्न नहुने रायमाझीको जिकिर छ । विगतमा विवादमा तानिएका व्यक्तिलाई अनुमोदन गर्दा सुनुवाइ समितिको प्रभावकारिता नभएको भन्दै प्रश्न उठाउनेले नै अहिले विवादित व्यक्तिलाई अनुमोदन नगर्दा आलोचना गरेको उनको टिप्पणी छ ।
रायमाझीले संवैधानिक अधिकारलाई समितिले उपयोग गर्दा विरोध गर्नु संविधानको विरोधसरह भएको बताए । उनले न्युज कारोबारसँग भने, ‘जननिर्वाचित सार्वभौम संसदीय सुनवाइ विशेष समितिले आफ्नो ढंगले काम गर्ने हो, कसैले यो गर त्यो गर, भन्ने होइन र अरुले प्रश्न उठाउन मिल्दैन, जननिर्वाचित संस्थाले गरेको निर्णयमाथि आलोचना गर्दै उसको गरिमा गिराउने अधिकार कसैलाई छैन ।’
नेपालको न्यायप्रणालीलाई विशिष्ट योगदान दिन सक्ने क्षमताको व्यक्ति सर्वाेच्चको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।
(रायमाझीसँगको अन्तर्वार्ता प्रतीक्षा गर्नुहोला ।)
प्रकाशित समय १८:५८ बजे

















