गृहपृष्ठ मुटुरोगबाट कसरी बच्ने ? (चिकित्सकको सुझावसहित)
मुटुरोगबाट कसरी बच्ने ? (चिकित्सकको सुझावसहित)
खानपान र जीवनशैलीमा ख्याल गर्न सुझाव
७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ । हिजोआज धेरै व्यक्तिमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयाघात, कोलस्ट्रोल, युरिक एसिड आदिको समस्या निकै बढेको पाइन्छ । मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् ।
जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारण । यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोगबाट बच्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्नुपर्नेमा चिकित्सकहरुको जोड छ ।
स्वास्थ्य क्षेत्रमा सक्रिय विभिन्न संस्था एवं चिकित्सकहरुको सुझावलाई एकत्रित गरी मुटुको सुरक्षा कसरी गर्ने भन्नेबारे जानकारी प्रदान गर्न यो सामग्री तयार गरिएको छ ।
सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेर्न सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवनशैली हो । यो कस्तो हुनुपर्छ त !
आहार (भोजन) कस्तो हुनुपर्छ ?
१. घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्घ तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान–बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा दुई–तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । एक छाकमात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
५. शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी हुँदैन । खसी, राँगो र बँगुरले कोलस्ट्रोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
६. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी फाइदाजनक हुन्छ ।
७. खाना थोरै–थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खानेबित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
८. मुटु रोग लागिसकेकाहरुले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।
९. मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।
व्यवहार कस्तो हुनुपर्छ ?
१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूर्ण छ । राति १० देखि ११ बजेभित्र सुत्नुपर्छ । शरीरलाई दैनिक ५ देखि ७ घण्टासम्मको गहिरो निद्रा अत्यावश्यक छ । निद्रा लाग्दैन भने औषधी खाएर भए पनि निदाउनुपर्छ । निद्रा नपरेमा मुटका रोग बढ्दै जान्छन् । निद्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटोपनले मानिस मुटुरोगी हुन्छन् । निद्रा कम हुँदा दिमागमा बोझ बढ्छ, रक्तचाप, ब्लड सुगर बढ्छ, हृदयाघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।
२. बिहान ५ देखि ६ बजेभित्र उठ्नुपर्छ । ढिलासम्म सुत्नुहुँदैन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढी स्वच्छ र शरीर चंगा हुन्छ ।
३. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म नै बनाउनुपर्छ । योगासन, प्राणयाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम पद्घति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रणतर्फ प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्घति पनि अनुशरण गर्न सकिन्छ ।
४. व्यायाम सकेपछि ३० मिनेट त्यस दिन गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा हडबड नगरिकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
५. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
६. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनु हुँदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनु हुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोग उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो, अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन रमाइलो गरेर सबै तनाव भुलेर रिल्याक्ससँग बिताउनुपर्छ ।
७. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ, बितेको कुरा र भोलि हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हँदैन ।
८. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
९. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबाट ज्ञान–बुद्घि मात्र होइन, सुख–सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमिन रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिको जीवन बढी व्यवस्थित हुन्छ । फुर्सद हुँदा, कसैलाई कुर्दा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्घ पुस्तक पढ्ने गर्नुपर्छ ।
१०. वर्षमा एकपल्ट परिवारका सदस्यहरुका साथ कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीतबिनाको जीवन निराश हुन्छ । निरोगी रहन गीत–संगीत नियमित सुन्ने गर्नुपर्छ ।
११. आफ्ना लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पु¥याएको भए त्यो रोक्नुपर्छ ।
सोचाइ कस्तो हुनुपछ ?
१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन–सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोको आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूर्ण मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रबल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँड्न सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुराहरु हुन् धन–सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहँदैन । एक बारको जिन्दगी हो मरेर के पो लानु छ । धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ । कति मानिसहरु धेरै धन तर सही व्यवस्थापन गर्न नसकेर सखाप भएका पनि छन् ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फ लाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहिरहन्छ त्यनि नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नु हुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नु हुँदैन । आमनेसामने फाइनल कुरा गर्ने वानी बसाल्नुपर्छ । यसबाट मनमा शान्त हुन्छ ।
५. महत्वाकांक्षा र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नु हँदैन । अरुलाई खुसी हुने काम गर्नुस्, तपाईंलाई त्यसको दोब्बर खुसी मिल्नेछ ।
६. जीवनका विविध पक्षलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो । जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । यसैगरी, घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ, फेरि परिश्रम गरेर अझ बढी कमाउँला भनी चित्त बुझाउन पनि सकिन्छ । जीवनमा जे घटना हुन्छ, त्यसलाई सधैं सकारात्मक रुपमा लिने बानी गर्नुपर्छ ।
७. गल्ती र हार भन्ने हुँदै हुँदैन । यी सबै जीवनका पाठहरु हुन् भन्ने सोच्नुपर्छ ।
८. विचारलाई व्यवस्थित गर्न योग अभ्यास विशेषगरी प्राणायाम र ध्यान अत्यन्त प्रभावकारी हुन्छन् ।
प्रकाशित समय १९:५७ बजे

















