गृहपृष्ठ ३३ केजी सुन तस्करी काण्डको भित्री कथा : तस्करीका नाईकेसँग प्रहरी अधिकृतहरुको मिलेमतो
३३ केजी सुन तस्करी काण्डको भित्री कथा : तस्करीका नाईकेसँग प्रहरी अधिकृतहरुको मिलेमतो

तीन महिना अघि गत माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।
गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्व प्रहरी नायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई यसअघि पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ । ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी अधिकारीहरु भने निलम्बनमा परिसकेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी विकास राज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीहरु निलम्बित भएको पुष्टि गरेको छ । तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको छ । छानविन समितिले एसएसपी श्याम खत्रीलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाएको छ । एसएसपी खत्री २०७३ पुस २१ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको अर्को घटनामा समेत मुछिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सारबाट बाहिरिएको सुन विमानस्थलको गोल्डेन गेटबाहिर बरामद गरेको थियो । उक्त सुन पास गराउन संलग्न रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको थियो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले अब तस्करीलाई सघाउने दोस्रो तहमाथि अनुसन्धान केन्द्रित गरेको छ । दोस्रो तहमा प्रहरीका केही बहालवाला अधिकारी, विमानस्थलका कर्मचारी र केही सुन व्यवसायीसमेत छन् । पक्राउ परेका तत्कालीन डीआईजी निरौलालाई भने मोरङ पठाइएको छ । बयानका क्रममा निरौलाले सुन तस्करीमा मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आफूले चिनेको र उनका बाबु आफ्नो साथी रहेको बताएका थिए ।
विमानस्थलबाट सजिलै बाहिरिएको सुन गुपचुप रूपमा लैजाने क्रममा बीच बाटोबाटै हराएको घटनामा तस्कर समूहले मोरङ स्थायी घर भई गौरीघाट बस्ने सनम शाक्यलाई शंका गरेको थियो । सुन पत्ता लगाउन समूहले शाक्यलाई मोरङ पु¥याएर निरन्तर कुटपिट र करेन्ट लगाएर फागुन १८ मा हत्या गरेको थियो । शाक्यको हत्यापछि मात्रै तस्करीको सुन हराएको र उक्त सुन विमानस्थलबाटै ‘सेटिङ’ मा बाहिरिएको तथ्य खुलेको थियो ।
अहिलेसम्म तस्करीमा संग्लन भएको आंशकामा समितिले १८ जना र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । शाक्यको हत्यालगत्तै फागुन १८ गते महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल मोरङ पुगेका थिए । महाशाखाको उक्त अनुसन्धानमा कैफियत देखिएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । अहिले डिएसपी केसी पक्राउ परिसकेका छन् ।
यसैबीच, अनुसन्धान विशेष समितिले महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई समेत नियन्त्रणमा लिएको छ । सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्क देखिएको छ ।
स्रोतका अनुसार झन्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको एक गाडीभित्र रहेको दुई केजी सुन गोरेले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । समितिले सई बालकृष्ण सन्जेलसँग पनि यही प्रकरणमा दोस्रोपटक बयान लिएको थियो ।
यसरी सुन तस्करी काण्डमा यति धेरै प्रहरी अधिकारीहरु माथि अनुसन्धान भएको यो पहिलो पटक हो । अझै धेरै प्रहरी अधिकारीहरुमाथि अनुसन्धान समितिले छानविन गरिरहेको छ । सुन तस्करी काण्डमा स्वयं यति धेरै प्रहरीका हाकिमहरु संलग्न हुनु पक्कैपनि लाजमर्दो विषय हो ।
३५ किलो सुनको कमिसन विवाद संसदको लेखा समिति हुँदै अख्तियारसम्म पुगेपछि २ वर्षयता सुन बरामद हुन छाडेको थियो । तर गएको माघ पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन बरामद भएपछि फेरि सुन तस्करी मौलाउँदै जान थालेको थियो । काठमाडौको कोटेश्वरबाट २०७० साल असारमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको ३५ किलो सुन निकै ठूलो विवादमा फसेको थियो । आजसम्म पनि उक्त सुन बरामद गर्न सहयोग पु¥याउने वास्तविक सुराकीलाई कमिशन दिईएको छैन । प्रहरीकै हाकिमहरुले आफ्ना नातागोता र ईष्टमित्रको नाम सुराकीमा राखेर कमिशन खान खोजेका थिए । तर खान पाएनन् । यसरी पहेंलो धातु सुनमाथि प्रहरीका हाकिमहरुको गिद्दे नजर पर्न थालेपछि प्रहरीकै संरक्षणमा नेपालमा सुन तस्करी गर्नेहरु मौलाउँदै जान थालेका हुन् । अहिले ३३ केजी सुन तस्करी प्रकरणले ठूलै चर्चा पाएको छ ।
२०७० साल असारमा एकैपटक समातिएको ३५ किलो सुनबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा पटक–पटक चर्चा पनि भयो । सोही ३५ किलो सुन सुराकी प्रकरण को फाइल अख्तियारले पनि अनुसन्धान थालेपछि राजश्व विभागले दिने कमिशन भारी मात्रामा कटौती भयो । जतिकिलो बरामद गरेपनि ५ लाख मात्रै कमिशन दिने निर्णयपछि प्रहरीको सक्रियता कमजोर भएको थियो । किचलो बढेपछि सुन फाट्ट फुट्ट मात्रै बरामद भयो । पुन प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि तस्करी गरी ल्याइएको सुन बरामद हुन थाल्यो ।
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको हो । सेटिङ मिलाएर विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो । त्यसपछि सुरु भयो ३३ केजी सुन प्रकरण ।
गत माघ २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा ज्यानमारा दुर्घटना भयो । थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गुड्दै गरेको ट्याङकरमा ठोक्किएर मृत्यु भयो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिसिटिभी फुटेजमा बन ट्याङ्करमा ठोक्किन गएको देखिएको छ । अहिले छानबिन समितिले गरिरहेको अनुसन्धानमा बनले नै ३३ केजी सुन विमानस्थलबाट बाहिर निकालेको हुनसक्ने आशंका छ । सुन हराएपछि तस्करहरुको निशानामा सानु बन परेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको एक महिनापछि फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्र्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पा¥यो । सनम शाक्य सुन तस्करी समूहका एकाउन्टेन्टका रूपमा काम गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न हिँडेको गाडी प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लियो । भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शाक्यको शव महाशाखाको टोलीले फेला पारेको थियो । प्रहरीले ३० वर्षीय गाडी चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की समातिए ।
३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी नै शंकाको घेरामा परे । तस्करसँग मिलेमतोको आशंकामा गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते लोहनीलाई जिम्मेवारीबाट मुक्त भएको पत्र थमायो । उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भए ।
चैत ३० गते बिहान ३३ केजी सुन काण्डको अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका काठमाडौँको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीको रहस्यमय मृत्यु भयो । अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरुवालमा लगाएको इजार प्रयोग गरी बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको अवस्थामा प्रहरीले फेला पा¥यो । चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रूपमा कार्यरत थिए ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सुन प्रकरणमा अनुसन्धानको लागि राजनीतिक नेता, सुन व्यापारी, विमानका कर्मचारीदेखि पूर्व डिआइजी र बहालवाल एसपीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ । न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवालसमेत यस काण्डमा पक्राउ परेका छन् । अनुसन्धान टोलीले नियन्त्रणमा लिएकामध्ये थाई एयरका कर्मचारीसमेत छन् ।
मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन लगायत छन् । समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन् । छानबिन समितिले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत्तमै हलचल मच्चाएका साढे ३३ केजी सुनका मालिक हुन् मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।
प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्या भएपछि उनी अनुसन्धानको घेरामा छन् । ३३ केजी सुन तस्करीका मुख्य नाइके भएको आरोपमा प्रहरीले चुडामणि उप्रेती गोरेलाई खोजी गरिरहेको छ ।
प्रकाशित समय १४:२९ बजे

















