गृहपृष्ठ ट्याक्सीमा जोडियो मिटर तर रोकिएन मनपरी
ट्याक्सीमा जोडियो मिटर तर रोकिएन मनपरी
यात्रु ठग्न मिटर मिलानमा अटेरी, बुझेका ट्याक्सी चालक भन्छन्– मिटरमै फाइदा
गत साता झापा सुरुंगाकी कल्पना अधिकारी बनेपा-बर्दिबासको बाटो हुँदै भक्तपुरको लोकन्थली आइपुग्दा झमक्क साँझ पर्यो । आफन्तका लागि ल्याएदिएको गह्रुँगो कोशेलीसहित उनी चोकबाट आधा किलोमिटर उत्तर हिँडेर जान सक्ने स्थिति थिएन र नजिकै रहेको ट्याक्सीलाई भनिन्- दाइ ! यहाँबाट ५-६ सय मिटरमाथि हो, जाऊँ ।’
ट्याक्सी चालकले सोधे- सामान कति छ ?
‘यही एउटा ब्यागमात्र हो,’ भुइँमा बिसाइराखेको एउटा अलि ठूलो झोला देखाउँदै उनले भनिन् ।
‘कति दिनुहुन्छ ?’ -चालकले भाडामा बार्गेनिङ सुरु गरे ।
‘किन ? मिटर चल्दैन र ?’ उनले प्रश्न गरिन् ।
‘चल्दैन,’ ट्याक्सीले ठाडो जवाफ फर्कायो, ‘तीन सय लाग्छ ।’
उनी अचम्ममा परिन् ।
‘जम्मा आधा किलोमिटर दूरीका लागि तीन सय ?’
घटाउने प्रयास गरिन् तर सकिनन् ।
ट्याक्सीको तर्क थियो- ‘तपाईंलाई पुर्याएर रित्तै फर्किनुपर्छ ।’
०००
गएको सोमबार महाराजगन्ज बस्ने अञ्जना भण्डारी बस चढेर बालाजु माछापोखरी पुगिन् । उनी जानुपर्ने थियो, लोलाङ । निकै हतारमा रहेकी उनले ट्याक्सीमा जाने विचार गरिन् र नजिकै रहेको ट्याक्सीलाई भनिन् । ट्याक्सी चालकले पाँच सय माग्यो ।
‘मिटरमा चल्दैन ?’ उनले प्रश्न गरिन् ।
‘चल्छ तर रिङरोडभित्र मात्र, कच्ची बाटोमा चल्दैन ।’
चालकको कुरा सुनेर उनको होसहवास उड्यो । पुगनपुग तीन किलोमिटर दूरीका लागि उनीसँग ट्याक्सीले पाँच सय बार्गेनिङ गरिरहेको थियो ।
०००
झन्डै ३ वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्याक्सीमा अब अनिवार्य मिटर जडान हुने र ट्याक्सी चढ्दा सर्वसाधारण सबैले अनिवार्य मिटर प्रिन्टिङ बिल पाउने सार्वजनिक घोषणा गरे । उनले ६ महिनामा हुन्छ भनेको काम अर्को सरकारको पालामा भए पनि भयो । अहिले सबै १० हजार ६ सय ट्याक्सीले मिटर जडान गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
मिटर जडान भयो तर समस्या समाधान भएन । किनकि, समस्या मिटर जडानमा थिएन, कानुन कार्यान्वयन र पेसागत मर्यादामा थियो । सरकार आफैंले बनाएको कानुन कार्यान्वयन कसिलो बन्न सकेको छैन भने ट्याक्सी चालकलाई पेसागत मर्यादाको कुनै हेक्का छैन । फलतः अधिकांश ट्याक्सी मिटर चलाउँदैनन्, यात्रुसँग भाडा बार्गेनिङ गर्छन् र चर्को भाडा असुल्छन् । सरकारी निकाय भने ‘कर्मचारी अभाव’का कारण अनुगमन गर्न नसकिएको ‘रेडिमेट’ जवाफ दिन कुनै संकोच छैन ।
यात्रु ठग्न मिटर मिलानमा अटेरी
यात्रु ठग्न पल्किएका ट्याक्सीले मिटर मिलानमा पनि अटेरी गरिरहेका छन् । भाडा वृद्धिपछि मिटर मिलानका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले ताकेता गरे पनि ट्याक्सीले अटेरी गरेका हुन् ।
विभागले ट्याक्सीमा कात्तिक २९ गतेदेखि मिटर मिलान सुरु गरेको हो । एक महिनामा १० हजार ६ सयमध्ये एक हजार ट्याक्सीमात्र मिटर मिलानका लागि नापतौल विभाग पुगेका छन् । पुसभरमा ५ हजार ७ सय ७३ ट्याक्सीमा मिटर मिलान गरिसक्ने विभागको तयारी रहेको ट्याक्सी मिटर जाँच इकाइका निरीक्षक विशाल जिरेलले जानकारी दिए । कर्मचारीको अभाव तथा मिटर मिलान गर्ने मेसिनको संख्या र क्षमता कम रहेकाले पनि काममा कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार मिटर मिलानका लागि ट्याक्सीले पनि उत्ति चासो देखाएका छैनन् ।
नापतौल विभागको सूचनाअनुसार बा. १ ज १ देखि बा. १ ज ५७७३ नम्बरसम्मका ट्याक्सीले पुसभित्र मिटर मिलान गरिसक्नुपर्छ । सूचनाअनुसार ट्याक्सी नआएपछि विभागले मिलानका लागि आउने जुनसुकै नम्बर प्लेटका ट्याक्सीको पनि मिटर मिलान गरिरहेको छ । नवीकरण गर्न आउने ट्याक्सीको पनि मिलान गरेर पठाउने गरेको जिरेलले बताए ।
अहिले दैनिक ६०–७० वटा ट्याक्सीले मिटर मिलान गराइरहेका छन् । यही गतिमा मिटर मिलान हुने हो भने उपत्यकामा उपलब्ध ट्याक्सीको ६ महिनामा पनि मिटर मिलान गरिसक्न मुस्किल पर्छ । यातायात व्यवस्था विभागको असोज ७ गतेको निर्णयअनुसार नापतौल विभागले मिटर मिलान सुरु गरेको हो ।
मिटर बिग्रिए पनि बनाउँदैनन् ट्याक्सी
मिटर जडान गरे पनि ट्याक्सी सकेसम्म मिटरमा जाँदैनन् । भाडा बार्गेनिङ गरी मनपरी असुल्छन् । यससँगै अधिकांश ट्याक्सीले बिग्रिएका मिटर बनाउँदैनन् । मिटर मिलानका लागि नापतौल विभाग पुग्ने अधिकांश ट्याक्सीको मिटर बिग्रिएको पाइएको छ । ‘अधिकांश ट्याक्सीका मिटर बिग्रिएको पाइन्छ,’ ट्याक्सी मिटर जाँच इकाइका निरीक्षक जिरेलले भन्छन्, ‘मिटर बनाइदिँदै मिलान गर्नुपर्दा झन् समय लाग्ने गरेको छ ।’
बुझेका ट्याक्सी चालक भन्छन्- मिटरमै फाइदा
व्यावसायिकता बुझेका ट्याक्सी चालक भने मिटरमै यात्रु बोक्न रुचाउँछन् । उनीहरु मिटर मिलानलगायत सरकारी कुनै पनि निर्देशनको सहजै पालना गर्छन् । दोलखाका ट्याक्सी चालक विनोद सुनुवारले ट्याक्सी चलाउन थालेको ६ महिना भयो । वैदेशिक रोजगारीबाट फर्किएर आएपछि ट्याक्सी राजधानीमा ट्याक्सी गुडाउन थालेका उनले सबै यात्रुलाई मिटरमै गन्तव्यमा पुर्याइदिन्छन् ।
मिटर मिलानका लागि नापतौल विभागमा पुगेका चालक सुनुवारले मिटर भएपनि बार्गेनिङ गर्नुपर्ने अवस्था नै नआउने हुँदा सहज हुने बताए । ‘भाडा वृद्धिले हामीलाई नै फाइदा भएको छ,’ उनले निर्धक्कसँग भने, ‘सरकारी नियम पालना व्यवसाय गर्न कसैसँग डराउनु पनि पर्दैन, न ट्राफिक न त सरकार नै ।’
ट्याक्सीको भाडा वृद्धि
ट्याक्सीको मिटर मिलान भएसँगै भाडादरमा पनि वृद्धि भएको छ । ट्याक्सी व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै भाडादर वृद्धि गर्न माग गरेपछि बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म प्रतिकिलोमिटर ३ रुपैयाँले बढेको छ भने बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म प्रतिकिलोमिटर ४ रुपैयाँले बढेको छ ।
प्रकाशित समय ०८:२८ बजे

















