गृहपृष्ठ आयुर्वेद उपचारमा विश्वास बढाऔंः पूर्वमन्त्री जोशी
आयुर्वेद उपचारमा विश्वास बढाऔंः पूर्वमन्त्री जोशी

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आयुर्वेद नेपालको पुरानो र भरपर्दो उपचार पद्धति भएको बताएका छन् । आयुर्वेद क्याम्पस नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस एकाइले नवआन्तुक विद्यार्थीका आयोजना गरेको स्वागत कार्यक्रममा नेता जोशीले नेपालको मौलिक उपचार पद्धतिलाई अझ विश्वासिलो बनाउने जिम्मेबारी नयाँ पुस्ताको काँधमा आएको बताएका हुन् ।
‘अब आयुर्वेदलाई नयाँ तरीकाले विकास गर्नुपर्छ, आयुवेर्दिक औषधिहरूको उत्पादन पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ प्रविधिबाट निर्माण गर्नु आवश्यक छ,’ उनले भने । उनले आफू उद्योगमन्त्रीको जिम्मेवारीमा रहेका समयमा गरेको अध्ययनमा नेपालमा आयुर्वेदको विकास गर्न सकेमा एक लाख मानिसलाई रोजगारी दिन सकिने देखिएको उल्लेख गरे ।
प्रतिनिधिसभाका सांसद राजन केसीले आयुर्वेद क्याम्पसको भौतिक निर्माणका लागि छिट्टै पहल गर्ने बताए । उनले क्याम्पसमा छात्रवासलगायतका भौतिक संरचना निर्माणका लागि संसद कोषबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आयुर्वेद क्याम्पस नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइका सभापति डा महेश्वर भट्टले आयुर्वेदलाई केन्द्रले उपेक्षा गरेको गुनासो गरे ।
प्रकाशित समय ०७:३२ बजे

















