गृहपृष्ठ किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ

किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ

काठमाडौं ।

एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको बताउँछन् आयल निगमका प्रवक्त विरेन्द्र गोइत । ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने गरेको छ,’ गोइतले भने ।

यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि पड्किने गरेको पाइएको छ ।

त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउन सक्ने उनले जनाए । ‘हामी कहाँ ग्यास स्टकमा राख्ने प्रवृति छ, प्रवक्ता गाइतले भने, ‘कैयौं वर्षसम्म त्यसरी स्टकमा रहीरहने तर प्रयोगमा नआउँदा समेत त्यसले जोखिम बढाउने गर्छ ।’

नेपाल आयल निगमका अनुसार देशभर करिब ४२ लाख ८२ हजारले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन् । यो क्रम वर्षेनी १५ प्रतिशतले वृद्धि हँदै गएको निगमको तथ्यांक छ । यसबाहेक मासिकरुपमा करिब २३ लाख एलपी ग्यास सिलिण्डर खपत हुने गरेको छ ।

खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने घटना समेत बढ्दै गएको छ । तर हालसम्म ग्यास पड्किएर ज्यान गुमाउनेको यकिन संख्या भने आधिकारीक निकायसँग छैन ।

त्यस्तै ग्यास सिलिण्डर पड्किएसँगै त्यसको छानविन गर्न बनेका समितिहरुले विभिन्न प्रतिवेदन सम्बन्धित निकायलाई बुझाउने गरेपनि त्यस्ता घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायका बारेमा भने आम उपभोक्तामा चेतनाको कमी देखिन्छ ।

यसरी सुरक्षित गरौं

सिलिण्डर ल्याउँदा नगुडाउनुहोस । सकभर सुतीको कपडा लागएर मात्र खाना पकाउनुहोस । भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस्। ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ । त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ । एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् । एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ ।

सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस् । ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस् । त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ । तर सिलिण्डरलाई कहिलै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् ।

सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन । त्यस्तै ग्यासको रबर पाइप १ दशमलव ५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन् ।

सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्ने गर्नुहोस् वा सम्वन्धित विक्रेतालाई बुझाउनुहोस् । पुराना सिलिण्डर प्रयोग नगर्नुहोस् ।

सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् । त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस् । यदी सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झ्याल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस् ।

पाइपबाट लिक भएमा पाइप फेर्नुहोस् । लिक भएको पाइपलाई नै टेपले टाँसेर प्रयोग गर्ने मुर्खता नगर्नुहोस् । धेरै पुरानो पाइप प्रयोग नगर्नुहोस् । त्यस्तै रेगुलेटरबाट ग्यास लिक भएमा सिलिण्डरको भल्वमा सेटी क्याम्प लगाएर घर बाहिर खुल्ला ठाउँमा राख्नुहोस र नजिकको ग्यास विक्रेता वा सम्बन्धीत ग्यास उद्योगलाई खबर गर्नुहोस ।

रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ । सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस, खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस् ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु