गृहपृष्ठ सार्वजनिक सवारीको बढी भाडा लिए नलिएको बुझ्न सातामा ३ पटक अनुगमन

सार्वजनिक सवारीको बढी भाडा लिए नलिएको बुझ्न सातामा ३ पटक अनुगमन

काठमाडौँ  । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केन्द्रित भएको छ ।
सार्वजनिक सवारीमा यात्रुसंग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारवाही गर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले भने,‘ सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारवाही गर्छौँ ।’ अनुगमनका क्रममा १३,१७ र १८ रुपैँया भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालालाई तुरुन्तै नियन्त्रणमा लिई कारवाही गर्ने गरेको प्रवक्ता अर्यालले राजधानीलाई बताए ।
विभागले बढी भाडा लिनेमाथि कारवाही गरी १ करोड राजश्व संकलन गरेको छ भने त्यसमध्ये २९ लाख रुपैँया असुल उपर गरिसकेको छ । उपत्यकाका सवारी साधानहरुले १३ रुपैँया भाडादर कायम भएका ठाउँमा १५ लिने,१७ या १८ रुपैँया कायम भएका रुटको भाडा २० रुपैँया लिने लगयातका थुप्रै ठगी गर्दै आएका छन् । ठगी बारे सर्वसाधारणको उजुरी बढ्न थालेपछि विभाग अनुगमनमा सक्रिय भएको हो । लामो समयदेखि सार्वजनिक सवारीहरुले यसरी नै सर्वसाधारणलाई ठग्दै आएका छन्् । अर्याल भन्छन्,‘विभागमा ठगीको उजुरी नै कम पर्ने गर्छ ।’ विना उजुरी कारवाही गर्न समस्या भएको उनको भनाई छ । अनुगमनबाट आएका उजुरीका आधारमा सवारीलाई कारबाही गर्ने गरेको विभागले जनाएको छ । तर विभागसँग थोरै जनशक्ति भएकाले पनि प्रभावकारी रुपमा अनुगमन गर्न सकिरहेको छैन । तर अब भने सरकार निकै सक्रिय भएकाले अनुगमन तथा कारवाही तिब्र भएको उनले बताए ।
सार्वजनिक सवारीले छोटो दुरीमा बढी भाडा लिएको,मनलाग्दी भाडा लिने गरेको लगायतका गुनासा आएपछि विभागले कारवाही तिब्र बनाएको प्रवक्ता अर्यालले बताए । उपत्यकाका विभिन्न स्थानमा गुड्ने सवारीमा भौतिक पूर्वाधार मन्त्रालयबाट हप्तामा एक पटक र विभागबाट हप्तामा तीन पटक अनुगमन भइरहेको अर्यालको भनाई थियो । त्यसैगरी, सरकारले गत १८ चैतमा यातायात क्षेत्रका लागि जारी गरेका विभिन्न निर्देशनहरु कार्यान्वन गर्न पनि केन्द्रित रहेको विभागले जनाएको छ । यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजीसँगै रुट अध्ययन,ट्याक्सीलाई व्यवस्थीत गर्ने,स्कूल बसका लागि विभिन्न नियम तथा निर्देशनलाई कार्यान्वयन ल्याउनेनेतर्फ सरकार केन्द्रित भएको विभागले जनाएको छ ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु