गृहपृष्ठ गीत संगीतमा सेन्सरसिप चाहिन्छ कि चाहिँदैन ?

गीत संगीतमा सेन्सरसिप चाहिन्छ कि चाहिँदैन ?

कुनै समय लोकगायक कुमार बस्नेतले गाएको ‘छोरीभन्दा आमा तरुनी’, उनकै छोरी तरुनी हाम्लाई केको दोष’ जस्ता गीतबारे पनि विवाद हुन्थ्यो । एक दशकअघि कोमल वलीले गाएको ‘पोइला जान पाम बोलको तीज गीत गाउँदा धेरैले छाडा भन्दै विरोध जनाए । त्यससपछि उनी ‘पोइल’ मौलिक शब्द भएको भन्दै स्पष्टीकरण दिँदादिँदा हैरान भएकी थिइन् ।

पछिल्लो समय ‘लुट्न सके लुट कान्छा’ बोलको गीत विवादित बनेपछि गायक पशुपति शर्मा आफैले हटाएका छन् । तर सरकारको दवावमा हटाइएको भन्दै सामाजिक सञ्जालमा गायक शर्मा र सरकारको पक्ष–विपक्षमा बहस चलेको छ ।

सामाजिक सञ्जालबाट स्पष्टिकरण दिँदै गायक शर्माले आफूलाई शुभेच्छुकले दिएको सुझावअनुसार गीत हटाएको र अब केही शब्द परिमार्जन गर्दै फेरि ल्याउने बताएका छन् । अर्काेतर्फ उनले गीतमा लुट्न भन्दै अपराधलाई प्रोत्साहन गरेको, राष्ट्रपतिको मान मर्दन गरेको र यमराजको शासन भनिएको भन्दै आलोचना भएको छ ।

कतिपयले भने लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने र आलोचनाको अधिकार निहित हुने भएकाले गीतमा ती शब्द राख्न पाउने जिकीर गर्दै आएका छन् । शर्माको गीतको पक्ष र विपक्षको बहसले फेरि एकपटक गीतसंगीतमा सेन्सरसीपको बसह निम्त्याएकोे छ । राष्ट्रिय लोकतथा दोहोरी प्रतिष्ठान नेपाललेनै विज्ञप्ति जारी गर्दै गीत संगीत सेन्सरबोर्ड गठनको माग गरेको छ ।

नेपाली चलचित्र क्षेत्रमा सेन्सर (जाँच) गरिनु सही कि गलत भन्नेबारेमा बेलाबेलामा बहस भइरहेको अवस्थामा संगीतमाथि समेत सेन्सरसीपको व्यवस्था हुनुपर्नेमा संगीतकर्मीहरुलेनै आवाज उठाएका छन् । यसअघि, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सरकारसँग गीतसंगीत सेन्सर बोर्डको माग गरेको थियो ।

गणतन्त्रपछि जनताले निर्वाध रूपमा आफ्ना अभिव्यक्ति विभिन्न माध्यमबाट राख्ने अवसर पाए पनि चलचित्रमा भने सेन्सर हुने गरेको छ । चलचित्रमा मात्र होइन, टेलिभिजनबाट प्रशारण हुने विज्ञापन तथा गीत संगीतमा पनि सेन्सर हुनुपर्छ भन्ने आवाज पहिले नै उठ्दै आएका थिए । अर्को पक्ष स्वतन्त्र भएर आफ्नो कला देखाउन पाउनुपर्छ भन्ने तर्क पनि सँगै आउने गर्छ ।

हाल कार्यान्वयनमा रहेको मुलुकी संहितामा सामाजिक सद्भाव भड्काउँने, अपराधलाई प्रोत्साहन गर्ने गीतसंगीत प्रशारण गर्न नपाइने भनिएको छ । सेन्सरसीपले गीत रिलिज गर्दै मेटाउदै जानुपर्ने अवस्थाको अन्त्य गर्ने अवस्था नहुने तर्क एकाथरीको छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै भनेको छ, ‘पशुपती शर्माको गीतले सेन्सर पास प्रशारण सर्टिफिकेट पाएको अवस्था हुन्थो भने यो अवस्था आउने थिएन ।’

वरिष्ठ संगितकार शक्तिबल्लभ गीत संगीतमा अंकुश लगाउन नभई विकृती हटाउनको लागि सेन्सरसीप आवश्यकता रहेको बताउछन् ।

फिल्म सेन्सर गरिन्छ भने गीतसंगीत पनि गरिनुपर्ने उनको धारणा छ । ‘हुन त अहिले सबै कुरामा स्वतन्त्रताको कुरा उठिरहेको छ, तर राष्ट्रिय संस्कृतिको जगेर्नाका लागि हामीले वा मिडियाले गीत संगीतमा पनि सेन्सर लागू गर्नुपर्छ । नत्र रहरका नाममा वा प्रभावका नाममा यताका कुरा उता भइरहन्छन्,’ बल्लभ भन्छन्, ‘संगीतलाई नियमन र व्यवस्थित गर्न सेन्सरसीप आवश्यक छ ।’

स्थापित संगीतकर्मीहरूले नै पैसा कमाउने नाममा जस्तोसुकै शब्द पनि गाइरहेको भन्दै सेन्सरसीको व्यवस्थाले बिकृतीलाई न्यूनीकरण गर्न सकिने शक्तिबल्लभको धारणा छ । उनी भन्छन् ‘गीत जाँचपास गर्ने निकाय छैन, त्यही भएर जस्ता पनि गीत बजारमा आए, अभिव्यक्ति कुन्ठित गर्नुभने हुँदैन ।’

संस्कृति, सिर्जनालाई मौलिक र राम्रो बनाउँदै, मनोरञ्जन गर्न सेन्सरसीपको आवश्यकता रहेको गायक यम बरालको पनि मत छ । ‘लोकतान्त्रिक गणतन्त्रमा स्वतन्त्र अभिव्यक्तिको सम्मान हुनुपर्छ, तर पछिल्लो समय छाडा, संस्कृति नै बदनाम हुने अवस्थालाई चैँ रोक्नैपर्छ । संसारमा जसले पनि रोकेको छ,’ बराल भन्छन् ।

पछिल्लो समय समाज भड्काउने र अन्तर्राष्ट्रिय जगतमा समेत देशको अवमूल्यन गर्ने गीत संगीत बजारमा आउने क्रम बढेकोले सेन्सरसीको आवश्यकता रहेको विन्धवासीनी म्युजिक सेन्टरका निर्देशक सुवास रेग्मी बताउछन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनिको नेतृत्वले सरकारसँग माग गरेको सेन्सर बोर्डको विषय बेलैमा सम्बोधन भएको भए अहिले गायक शर्माले गीत हटाउनुपर्ने अवस्था नआउने उनको भनाइ छ । ‘लोक तथा दोहोरी गीत प्रतिष्ठानले सरकारसँग माग गरेको सेन्सर बोर्डको विषय बेलैमा सम्बोधन भएको भए आज पशुपती शर्माको गीत रिलिज हुँदै हट्दै गर्नुपर्ने अवस्था आउनेनै थिएन । सरकारले गीत संगीतमा सेन्सर बोर्डको व्यवस्था चाडै होस् ।’

समाजमा देखिएका विकृतिका विरुद्धमा आवाज उठाउनु एउटा कलाकारको धर्म भएकाले स्वतन्त्र रुपमा त्यो बिषय उठाउन पाउनुपर्ने रेग्मीको भनाइ छ । यसमा गायक तथा कलाकार दुर्गा रायमाझीको भने फर मत राखेका छन् । ‘गीतमा सेन्सरसीपको आवश्यकता छैन,।’ उनको तर्क छ ‘म सेन्सरसीपको पक्षमा छैन, सर्जकका सिर्जना मन लाग्नेले सुन्छन् नलाग्नेले सुन्दैनन् ।’

गायिका आस्था राउतले भने गीत संगीतलाई व्यवस्थित बनाउनको लागि सेन्सर बोर्डको आवश्यकता रहेको औंल्याउछिन् । उनी भन्छिन् ‘नेपाली गीत संगीतको विकास तथा विस्तारका लागि सरकारी निकायबाट नियमन र लोकतान्त्रिक सेन्सरसीपको व्यवस्था गर्नुपर्छ ।’

दर्शक, श्रोता सञ्जाल नेपालले त सेन्सर बोर्डको मागसहित दवावमूलक हस्ताक्षर संकलन अभियानै चलाएको थियो । दर्शक श्रोता सञ्जालका उपाध्यक्ष सन्तोष बजगाइँ भन्छन्, ‘सेन्सर भएको चलचित्र क्षेत्रमा त विकृति बढ्दो छ, झन् कुनै पनि मापदण्ड नै नभएको गीत संगीतमा नहुँने कुरै भएन नि ! विशेषगरी लोकगीतमा सेन्सरको खाँचो छ ।’

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु