गृहपृष्ठ सत्तारूढ दल नै भन्छ- थरूहट राजनीतिक मुद्दा हो
सत्तारूढ दल नै भन्छ- थरूहट राजनीतिक मुद्दा हो
अदालतले अपराधिक कार्य भनेकामा ‘ध्यानाकर्षण’
सत्तारूढ संघीय समाजवादी फोरम नेपालले थरूहट आन्दोलन राजनीतिक भएको उल्लेख गर्दै त्यसको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिएको छ । जिल्ला अदालत कैलालीको फैसलाप्रति ध्यानाकर्षण भएको बताउँदै सत्तारूढ फोरमले शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त मुद्दाको कानुनी नभई राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।
‘पश्चिम तराई/मधेशमा भइरहेको थरूहट आन्दोलन पनि राजनीतिक आन्दोलनकै एउटा हिस्सा भएकोले यसको समाधान पनि राजनीतिक रूपले नै हुनु पर्नेमा,’ फोरमले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हालै माननीय रेशम चौधरी लगायतहरूमाथि सम्मानित कैलाली जिल्ला अदालतको फैसलामा उक्त आन्दोलनलाई अपराधिक कार्य भनी गरिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
थरूहट आन्दोलनलाई ‘राजनीतिक’ भएको उल्लेख गरेको फोरमले त्यसको कानुनी समाधान खोजिँदा झन् जटिलता उत्पन्न हुने उल्लेख गरेको छ । ‘यसबाट समस्याको समाधान नभई झन् जटिलता उत्पन्न हुने हुँदा नेपाल सरकारले उक्त राजनीतिक समस्याको समाधान कानुनी हैन राजनीतिक तवरबाट नै हल गरी समस्याको दिर्घकालिन समाधान गरिनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १९:०५ बजे

















