गृहपृष्ठ सिके राउतको राजनीतिक यात्रा : खुल्लामञ्चको पहिलो भाषणदेखि ११ बुँदे सहमतिसम्म
सिके राउतको राजनीतिक यात्रा : खुल्लामञ्चको पहिलो भाषणदेखि ११ बुँदे सहमतिसम्म
- २०६८ चैत १८ पहिलो पटक खुल्ला मञ्चमा भाषण
- त्यसपछि राज्यप्रति असन्तुष्ट राख्दै अलग मधेको नारामा गतिविधि
- २०७१ भदौ ५ राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने माग
- २०७१ भदौ २१ देशद्रोहको अभियोगमा मोरङको रंगेलीबाट पक्राउ
- २०७१ असोज २१ राज्यविरुद्धको अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दायर
- २०७१ असोज २८ अदालतद्वारा ५० हजार धरौटी माग
- २०७२ बैसाख ११ अदालतद्वारा सफाइ
- २०७३ माघ २० सिराह जिल्ला अदालतमा पनि मुद्दा
- २०७३ माघ २१ सिराह जिल्ला अदालतद्वारा थुनामा राख्न आदेश
- २०७३ फागुन ५ रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर
- २०७३ चैत ३१ गते धरौटीमा रिहा
- २०७४ बैसाख ३ गते फेरि पक्राउ
- त्यसपछी पटक पटक पक्राउ पर्ने र छुट्ने श्रृंखला
- २०७५ असोज २१ रौतहटबाट पक्राउ
- २०७५ फागुन १५ विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर
- फागुन २३ जेलमुक्त
- फागुन २४ राजनीतिक सहमतिबाट शान्तीपूर्ण राजनीतिमा
डा. सिके राउत अमेरिकामा बस्दै र पढ्दै आएका थिए । सँगै अमेरिकामै उनी ईन्जीनियरको काम गर्दै आएका थिए । मधेशका असन्तुष्ट राजनीतिक दलहरुको समूह तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनमा रहेको समयमा राउतले भाषण दिएका थिए । २०६८ चैत १८ गते मोर्चाले खुलामञ्चमा गरेको आमसभामा मधेशी बुद्धिजीवीको रुपमा उनले सम्बोधन गरेका थिए । त्यो भाषणनै उनको राजनीतिक सुरुवाती भाषणा भनेर धेरैले उल्लेख गरेका छन् ।
राउतले त्यतिबेला मधेस अपमानित भएको भन्दै त्यसविरुद्ध उत्रनसमेत आह्वान गरे । उनको त्यो भाषणलाई मधेसकेन्द्रित नेता र कार्यकर्ताले प्रशंसा गरे । त्यसपछि उनले स्वतन्त्र मधेसको वकालत गर्दै उनले राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने मत राख्दै आए ।
उनले आफ्नो गतिविधि पनि विस्तार गर्दै संगठन तथा कार्यकर्ता बनाए । उनले संविधानविरोधी माग राख्दै मधेस अलग गराउने भन्दै विविध गतिविधि गरेपछि दोस्रो संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका संयोजक डा. बाबुराम भट्टराईले संवादमा आउन आग्रह गरे ।
२०७१ भदौ ५ गते भएको छलफलमा स्वतन्त्र मधेसको वकालत गर्दै उनले राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने मत राखे । त्यतिबेलासम्म उनले आफ्नो गतिविधि पनि विस्तार गरिसकेका थिए । खुलेआम मधेस अलग हुनुपर्ने माग राख्दै भाषण गर्दै र पर्चा बाड्दै हिँडेपछि प्रहरीले उनलाई पक्राउ गर्यो । राउत २०७१ भदौ २८ मा मोरङको रंगेलीबाट पक्राउ परे ।
देश द्रोहको मुद्दामा उनलाई विशेष अदालतमा मुद्दा समेत दायर गरियो । त्यसपछि उनी विखण्डनकारीका रुपमा चिनिएका थिए । २०७१ असोज २१ गते राउतसहित उनका कार्यकतालाई सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको मुद्दा दायर भयो ।
त्यही बीचमा विशेष अदालतले २०७१ असोज २८ गते ५० हजार धरौटी माग गर्यो । उनले आफूसँग पैसा नभएको भन्दै थुनामा बसीरहन राजी भए । २०७२ बैशाख ११ गते विशेष अदालतले उनलाई सफाइ दियो ।
त्यसपछि पनि उनले पटक पटक मधेस अलग राउनुपर्ने भन्दै विभिन्न कार्यक्रम गर्दै हिडे । सोही क्रममा पटक पकट पक्राउ पर्दै छुट्दै आए ।
२०७३ चैत ३१ गते उनी धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाटै पक्राउ परे । फागुन ५ गते रुपन्देही जिल्ला अदालतमा पनि उनीविरुद्ध मुद्दा दायर भएको थियो । उनी उक्त अदालतबाट पनि रिहा भए ।
२०७४ बैसाख ३ गते उनी फेरि पक्राउ परे । यसरी केही वर्ष पक्राउ पर्ने र छुट्ने शृंखला चलिरह्यो ।
पछिल्लो पटक २०७५ असोज २१ गते राउत पक्राउ परेका थिए । अदालतले जेल साजाया सुनाएछि उनी ५ महिनासम्म जेलमै थिए । त्यसविरुद्ध उनी २०७५ फागुन १५ गते सर्वोच्च गए । यो नै उनको सबैभन्दा लामो जेलको बसाई थियो ।
यहीबीच राउतले आफू सहमतिमा आउन चाहेको भन्दै वार्ताको प्रक्रियामा आउने भन्दै आफ्ना सहयोगीमार्फत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुलाई सम्पर्क गरे ।
बिहीबार राउतको निवेदनमा सर्वोच्चले राउतलाई थुनामा राख्न उपयुक्त नभएको फैसला सुनायो । आदेशलगत्तै उनी डिल्लीबजार कारागारबाट रिहा भए ।
त्यसको भोलिपल्टै शुक्रबार राष्ट्रिय सभागृहमा उनले सरकारसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर शान्तिपूर्ण राजनीतिमा आएका हुन् । यो सँगै राउतले सहमतिमै मधेस अलग हुनुपर्ने विखण्डनकारी माग त्यागेका छन् ।
राउत जेलमै रहदा केही दिनअघि मात्र आफ्ना प्रतिनिधिलाई नेकपाका नेताहरुसँग छलफलमा पठाएको स्रोतले बताएको छ । राउतका प्रतिनिधिसँग सत्तारुढ नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, महान्यायाधिवक्ता अग्नि खरेललगायताक नेताहरुसँग छलफल भएको बताइन्छ ।
नेकपाका एक नेताका अनुसार मुद्दा फिर्ता लिने हो भने आफू मूलधारको राजनीतिमा आउँन र पृथकतावादी आन्दोलन त्याग्न चाहेको भन्दै राउतले आफ्ना सहयोगीलाई वार्ता गर्न पठाएका थिए । त्यसको लागि वातावरण बनाइदिनुपर्छ भनेर प्रधानमन्त्री सहमत भएका हुन् ।
राउतले केही कितावहरु पनि लेखेका छन् । मधेसको इतिहासदेखि थिचोमिचोका बारेमा पनि लेखेका छन् । मधेसलाई खस समुदायले उपनिवेश बनायो भन्ने राउतको निश्कर्ष थियो । तर त्यो सही नभएको विज्ञहरुको तर्क छ । विगतमा गोपाल वंश, लिच्छवीलगायत शासनकालमा मधेसले सिँगै नेपाललाई नेतृत्व गरेको विज्ञहरु बताँउछन् ।
प्रकाशित समय १९:४१ बजे
















