गृहपृष्ठ सरकार र सिके राउतबीच सहमति, तनावमा राजपा
सरकार र सिके राउतबीच सहमति, तनावमा राजपा
सरकारले मूलधारको राजनीति गर्ने शक्तिलाई पाखा लगाउँदै विखण्डनवादी शक्तिलाई प्राथमिकता दिएको भन्दै राष्ट्रिय जनता पार्टी राजपाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएको छ । आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ सरकारले सिके राउतलाई महत्व दिएको भन्दै राजपाले सरकारविरुद्ध आन्दोलन तीव्र बनाउने घोषणा गरेको हो ।
राजपाका निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजायसहितको फैसला सुनाएलगत्तै राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसको दुई दिनपछि बिहीबार सर्वाेच्चको आदेशमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत रिहा भएका थिए । लगत्तै शुक्रबार सरकारले राउतसँग राजनीतिक सहमति गरेर आफूहरुलाई काउन्टर दिएको राजपाका नेताहरुको बुझाइ छ ।
राउत रिहा भएलगत्तै रातारात सहमतिको मस्यौदा तयार गरिएको तर आफूहरुलाई बेवास्ता गरिएको राजपाका नेताहरुको गुनासो छ । ‘सिके राउतलाई आवश्यकताभन्दा बढी महत्व दिइयो तर राजनीतिक दलहरु राजपा र फोरमले उठाउँदै आएको संविधान संशोधनको मुद्दालाई सरकारले कुनै वास्ता गरेन,’ राजपाका नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘यसैले माग पूरा गर्न दबाब दिनका लागि आन्दोलनमा उत्रन लागेका हौं ।’
देश विभाजनको मुद्दा लिएर मधेसमा आफ्नो अभियान चलाउँदै आएका राउतले उक्त मुद्दा परित्याग गर्दै मूलधारको राजनीतिमा आएकोमा भने राजपाले स्वागत गरेको छ । तर, सरकारले आवश्यकताभन्दा बढी महत्व दिएको नेता कर्णको आरोप छ ।
अब केही दिनमै राष्ट्रिय आन्दोलन गरेर संविधान संशोधनका लागि राजपा अगाडि बढ्ने महासचिव केशव झाले बताए । ‘सिके राउतले विगतमा विखण्डनको अभियान चलाउँदै आएकाले सबै मधेसी दललाई काठमाडौंले विखण्डनकारीको आरोप लगाउने गर्थे, राउतकै कारण मधेसमा हुने सबै आन्दोलन देश टुक्र्याउने आन्दोलन भएको आरोप लाग्ने गर्थ्यो,’ अर्का नेता केशव झा भन्छन्, ‘अब सिके राउत अखण्डको पक्षमा आएर शान्तिपूर्ण राजनीतिमा आएपछि हामी त्यो आरोपबाट मुक्त हुनेछौं ।’
राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलालीको फैसला आफूहरुले नमान्ने चेतावनी दिए । सरकारले राजपालगायतका मधेसी शक्तिलाई हेपेको उनको आरोप छ । ‘अन्यायमाथि अन्याय भएको छ,’ उनले भने, ‘त्यसविरुद्ध देशमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा गरिसकेका छौं । अब थारु, जनजाति र मधेसी मिलेर देशमा राष्ट्रिय विद्रोह सुरु हुन्छ ।’
चुनावताका सिके राउतले मतको अपव्याख्या गरेर मधेसी जनताको भावनासँग खेलवाड गरेकाले उनी राज्यबाट नै परिचालित थिए भन्ने कुरा पनि प्रस्ट भएको नेता महतोको आरोप छ । राउतसँग सहमति भएपछि प्रधानमन्त्री ओलीले भनेका थिए– राउतलाई देखाएर स्वार्थको रोटी सक्नेहरु थुप्रै थिए, अब ती सबैका दोकान बन्द हुनेछन् ।
राजपा र फोरमले राउतलाई देखाएर राज्यसँग सौदाबाजी गर्दै आ–आफ्नो स्वार्थ पूरा गर्दै आएको ओलीको संकेत थियो । राजपाले भने त्यसबेलामा सिके राउतलाई सरकारले नै परिचालन गरेको आरोप लगाएको हो । बरु राजपालाई नै राउतको नाम देखाएर प्रधानमन्त्री ओलीले सधैं आफ्नो स्वार्थको रोटी सेक्दै आएको नेता महतोले बताए । टीकापुर हत्याकाण्डमा राजपा सांसदसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि सरकार र राजपाबीच तनाव बढेको हो ।
प्रकाशित समय २०:२४ बजे

















