गृहपृष्ठ प्रतिपक्षी भन्छ- प्रदेश सरकारबाट योजना छनोटमा झेल भयो
प्रतिपक्षी भन्छ- प्रदेश सरकारबाट योजना छनोटमा झेल भयो
प्रदेश १ सरकारले योजना छनौटदेखि कार्यान्वयन तहसम्म विभेद गरेको गुनासो प्रतिपक्षी गरेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य सज्जाकुमारी चौधरीले प्रदेश सरकारले विकास योजना छनौटमा समेत विभेद गर्दै झेल गरेको आरोप लगाइन् ।
सरकार अहिलेसम्मका काम कारबाहीमा एकलौटी ढंगले अघि बढेको उनले बताइन् । ‘एक्लै सबै गर्ने भए हामीलाई दुःख नदिनुहोला,’ उनले भनिन्, ‘नत्र सहकार्य समन्वय भन्ने कुरा ओठेबोलीमा मात्र सीमित नराख्नुहोला ।’
सभा सदस्य रामबहादुर मगरले झापा र इलामका चिया मजदुरले सेवा सुविधा वृद्धिको माग गर्दै गरिरहेको आन्दोलन चाँडोभन्दा चाँडो सुल्झाउन प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराए । उनले दुई जिल्लाका २ सय ९० भन्दा बढी मजदुर आन्दोलनमा रहेको जानकारी सदनलाई गराए । उनले सरकारले तोकेको न्यूनतम ज्याला श्रम ऐन २०७४ कार्यान्वयन नहुँदा चिया मजदुर समस्यामा परेकाले उनीहरुको समस्यालाई विशेष व्यवस्था गर्न चाँडै विकल्प खोज्न आग्रह गरे ।
प्रकाशित समय २०:३५ बजे

















