गृहपृष्ठ नेकपामा जनवर्गीय संगठनको एकताले कार्यकर्ता उत्साहित
नेकपामा जनवर्गीय संगठनको एकताले कार्यकर्ता उत्साहित
नेपाल कम्युनिस्ट पार्टी नेकपाले विभिन्न जनवर्गीय संगठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती संगठनले गति लिने भएका छन् । माउ पार्टी एकता भएको एक वर्षसम्म एकता पूर्ण नहुँदा नेता कार्यकर्ता कामविहीन भएका थिए भने सांगठनिक र वैचारिक काममा निष्क्रियता छाएको थियो ।
पार्टी एकताको एक वर्ष र जननेता मदन भण्डारी र जीवराज आश्रितको २६औँ स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एक वर्षअघि पार्टी एकता भएको थियो ।
पार्टीनिकट रही विभिन्न क्षेत्र र पेशामा रहेका जनसंगठनहरुले पार्टी र सरकारमा राम्रा कामका बारेमा पनि सम्बन्धित क्षेत्रमा उचित सन्देश प्रवाह हुन नसकेको स्थितिमा नयाँ जिम्मेवारी पाएका संयोजक र सहसंयोजकले उक्त भूमिका निर्वाह गर्ने भएका छन् । ती संगठनले आफ्ना केन्द्रीय कमिटीका लागि तोकिएको संख्याको मापदण्ड र विधि तय गरेर तल्ला कमिटीको एकताको जाने तयारी थालेका छन् ।
महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ जनसंगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरेका थिए । उनले संयोजक र सहसंयोजकको नाम घोषणा गरिरहँदा त्यहाँ उपस्थिति सम्बन्धित संगठनका नेता कार्यकर्तामा उत्साह देखिएको थियो । अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक घोषणापछि ऐन महर, अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापालगायतलाई कार्यकर्ताले बल्खुमै अबिर र माला लगाएर बधाई दिएका थिए ।
जनसंगठनका नेतृत्व घोषणा हुने सूचनाले बिहान ८ नबज्दै बल्खुको उक्त पुरानो कार्यालयमा कार्यकर्ताको भीड लागिसकेको थियो । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता सहभागी हुने भएको पनि सुरक्षा र कार्यकर्ताको चहलपहल बढेको थियो । कार्यक्रम स्थलमा जान कार्यकर्ताको लामले एमालेले दशैँ-तिहारका समयमा आयोजना गर्ने चियापानको झझल्को दिलाएको थियो ।
अनेरास्ववियुका संयोजक ऐन महरले आफूहरुलाई जिम्मेवारी दिइएसँगै संगठनमा उत्साहको प्रवाह भएको बताए । अब संगठनका लागि निर्धारित २५१ केन्द्रीय कमिटी सदस्यको टुंगो लगाउने र तल्ला कमिटीको एकता प्रक्रियालाई पूर्णता दिइने उनले जानकारी दिए । ‘विद्यार्थी संगठनको औचित्य पुष्टि गर्ने र आकर्षण जगाउने काममा लाग्नुपर्छ,’ उनले भने, ‘राजनीतिक, शैक्षिक र सामाजिक जागरणका साथै विकृतिको अन्त्य र राष्ट्रियताको पहरेदारीका लागि हामी लाग्नुपर्छ ।’ ‘जहाँ विद्यार्थी, त्यहाँ अनेरास्ववियु’ को नारालाई स्थापित गरिने उनले बताए । तत्कालीन दुई विद्यार्थी संगठनमा गरी ४४३ केन्द्रीय सदस्य रहेकामा पार्टी नेतृत्वले एकतापछि संख्या घटाएको छ ।
संगठनका सहसंयोजक एवं तत्कालीन अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले भने सो जिम्मेवारीप्रति पुनर्विचार गर्न शीर्ष नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । तामाङले अस्वीकार गरेमा सुरेन्द्र बस्नेतलाई सहसंयोजक बनाउने पार्टीको तयारी छ ।
युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नयाँ जिम्मेवारीसँगै एकतामा उत्साह थपिएकाले अब आगामी जेठभित्रमा केन्द्र, जिल्ला र प्रदेश कमिटीको टुंगो लगाउन कार्यदल गठन गरी मापदण्ड र विधि बनाएर काम गरिने बताए । उनले संगठनको नामका विषयमा पनि आगामी दिनमा छलफल गरिने उल्लेख गरे । यो संगठनका लागि १५१ सदस्यीय केन्द्रीय कमिटी निर्धारण गरिएको छ । संगठनको सहसंयोजक रमेश पौडेल तोकिएका छन् ।
ट्रेड युनियन महासंघ नेपालका संयोजक विनोद श्रेष्ठले जनसंगठनको एकताले सकारात्मक सन्देश दिएकाले राजनीतिक एकतापछि आफ्नो संगठनको कानुनी प्रक्रियासमेत पूरा गरेर तल्ला कमिटी र आबद्ध २० संघको एकता पूर्णता दिई एक वर्षभित्र महाधिवेशन गरिने बताए । उनले एकता पूर्ण भएपछि आफ्नो संगठनमा साढे आठ लाख सदस्य रहने जानकारी दिए । यो संगठनका लागि २५१ केन्द्रीय सदस्य संख्या तोकिएको छ ।
‘जनताको बहुदलीय जनवाद’ अवलम्बन गर्दै आएको तत्कालीन नेकपा (एमाले) र माओवाद एवं ‘२१औँ शताब्दीको जनवाद’ अवलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित नेकपाले संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्धताका साथ एकीकृत भएको हो ।
नेकपाले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ भने जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा वैचारिक बहस चलाउने भनेको छ । नेपालमा मार्क्स र लेलीनको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
(प्रकाश सिलवाल र शरद शर्मा/रासस)
प्रकाशित समय १८:०६ बजे

















