गृहपृष्ठ ७० वर्षीय ‘चटपटे बाजे’ : जो मासिक ७५ हजार कमाउँछन्
७० वर्षीय ‘चटपटे बाजे’ : जो मासिक ७५ हजार कमाउँछन्
धेरैजसो मानिस बुढ्यौली लागेपछि सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हिनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तको कुनै आश नगरी तीन हजार रुपैयाँको लगानी जुन व्यवसाय गरे, त्यसले अहिले उनलाई मासिक ७५ हजार आम्दानी जुटाइएको छ ।
बिहान उज्यालो भएदेखि राति १० बजेसम्म चनाचटपटे बनाउन भ्याइनभ्याई हुन्छ, म्याग्दीका ७० वर्षीय लालबहादुर पुर्जा र उनकी श्रीमती ६५ वर्षीया लीलामती पुर्जालाई । बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यवसाय सुरु गरेका पुर्जा दम्पती चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टा तारेर बिक्री गर्छन् । अमिलो, पिरो र स्वादिलो चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टाका परिकार बेचेर उनीहरू मासिक ७५ हजारभन्दा बढी कमाउँछन् ।
‘मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ, केही सीप नलागेर आत्महत्या गर्नेसम्मको विचार गरें,’ अतित सम्झँदै सफलताको कुटुरो फुकाउन सुरु गरे हँसिला र रसिला पुर्जाले । विगत विरसिला कुरा सुनाइरहँदा पुर्जाकी श्रीमती लीलामती आडैमा बसेर आँसु पुछिरहेकी थिइन् ।
सत्र वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरिबीका कारण लखेटिएर भारतका विभिन्न सहरमा चौकीदारी र मजदुरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुगेका पुर्जाको जीवन अहिले ईर्श्यालाग्लो बनेको छ । परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्किएका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा ढोकापालेको काम गरे । त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि उनले सुरु गरे, चनाचटपटे व्यवसाय ।
‘मैले बोर्डिङका सञ्चालकलाई ५०० रुपैयाँ तलब बढाइदिन भनें,’ चनाचटपटे व्यवसाय सुरु गर्दाका दिन सम्झँदै पुर्जाले भने, ‘तर नबढाइदिएपछि त्यसैको झोंकमा आफन्तसँग तीन हजार रुपैयाँ सापटी लिएर यो व्यवसाय सुरु गरेको हुँ ।’
पुर्जालाई उनका ग्राहकले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् । हँसिला, फरासिला पुर्जाले ग्राहकलाई स्वादिलो चनाचटपटे मात्र खुवाउँदैनन्, रसिला कुरा गरेर पेट मिचिमिचि हँसाउँछन् पनि । ‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहकलाई नमस्कार फर्काउँदै चनाचटपटे बनाउन व्यस्त हुन्छन् । श्रीमती लीलामती कुखुराको टाउको र खुट्टा भुट्न थाल्छिन् । मुख र हात सँगसँगै चलाउने पुर्जाका कुरा सुन्दै हाँस्दै ग्राहक खान थाल्छन्, स्वादिलो चटपटे र कुखुराका परिकार ।
मंगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चनाचटपटेको पसल चलाएका छन् । मासिक तीन हजार भाडा तिरेर सञ्चालन गरेको सो पसलमा बिहानदेखि राति १० बजेसम्म ग्राहकको भीड लाग्छ । बस्ने ठाउँ भरिएपछि कतिपय उठीउठी खान्छन् भने कतिपयलाई आधा घण्टासम्म पालो कुर्नुपर्छ ।
चनाचटपटे किन्न आधा घण्टाभन्दा बढी प्रतीक्षा गरिरहेकी जमुना श्रीषले यहाँ जतिको स्वादिलो चटपटे अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताइन् । पुर्जा आलु, प्याज, धनियाँ, कागती, खुर्जानी, भुजा, पेस्ता र बदाम मिलाएर चटपटे बनाउँछन् । अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकाले दिनहुँ ग्राहकको भीड लाग्ने स्थानीय धनु बानियाँले बताइन् ।
पुर्जाले २० देखि १५० सम्मको प्रतिप्लेट चटपटे बेच्छन् । सामान्य चटपटे प्रतिप्लेट २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको सँगैको चटपटेलाई १५० रुपैयाँ लिन्छन् ।
१० वर्षअघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पुर्जा अहिले चनाचटपटे बेचेर लाखौं सम्पत्तिको मालिक बनेका छन् । चार तोला सुनका औंठी र सिक्री झल्काउँदै फटाफट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिस हेरेको हेर्यै हुन्छन् । बेनीका बैंक तथा वित्तीय संस्थामा बचत गर्नुका साथै साह्रो गाह्रो परेकालाई आर्थिक सहयोगसमेत गर्दै आएका छन् उनले ।
तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताए । उनले भने, ‘हातखुट्टा चलुन्जेल यही व्यवसाय गर्छु । मलाई यसैमा मस्ती छ ।’
(ध्रुवसागर शर्मा/रासस)
प्रकाशित समय १७:४२ बजे

















