गृहपृष्ठ नेता नसुध्रिए कांग्रेस सुध्रिँदैन : शेखर कोइराला

नेता नसुध्रिए कांग्रेस सुध्रिँदैन : शेखर कोइराला

shekhar-koirala-newskarobar

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता नसुध्रिए पार्टी नसुध्रिने बताएका छन् । नेपाली कांग्रेस चितवन-काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउँछ, त्यसकारण जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्छ ।’

नेताहरु गुटका आधारमा लडिरहने र आफ्नो स्वार्थका लागि मात्र दौडिरहने हो भने कार्यकर्तामात्रै गतिलो भएर पार्टी नबन्ने उनको प्रस्टोक्ति छ । ‘कांग्रेसमा कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रेर गतिलो हुनुपर्यो,’ कोइरालाले भने ।

वर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको भन्दै नेता कोइरालाले सरकारको कदमविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई नेतृत्वले प्रेरित गर्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जागरण अभियान कांग्रेसको आन्तरिक एकता मजबुद पार्नका लागि भएको भन्दै एकताबिना कम्युनिस्टसँगको प्रतिस्पर्धा सहज नहुने तर्क गरे । ‘दुई तिहाईको सरकारमा रहेका कम्युनिस्टसँग विभाजित मानसिकताले लड्न सकिन्न । कांग्रेसभित्र एकता भयो भने संसारका कम्युनिस्ट मिले पनि हामी जित्छौं,’ उनले भने ।

कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले जागरण अभियानले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले अघिल्लो निर्वाचनमा कम्युनिस्टले जनतालाई भ्रममा पारे पनि अब कम्युनिस्ट शासन देखेपछि जनताले अभिमत बदल्ने बताए । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेसको विश्वविद्यालय सानेपास्थित केन्द्रीय कार्यालय रहेको भन्दै नेताहरुले घरघरमा गुटको कलेज चलाउन आवश्यक नरहेको विचार राखे । कार्यक्रममा नेपाली कांग्रेस चितवनले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको थियो ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु