गृहपृष्ठ ‘स्वास्थ्य सामाग्री खरिदमा सेनालाई छानविन हुँदैन भन्ने सरकारको मानसिकता’
‘स्वास्थ्य सामाग्री खरिदमा सेनालाई छानविन हुँदैन भन्ने सरकारको मानसिकता’
फाइल तस्बिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन् ।
नेता पौडेलले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक लाईभमार्फत् भ्रष्टाचारमा जो सुकै भए पनि तत्काल छानविन गरि कारवाहीको माग गरेका हुन् । नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए ।
उनले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जीमार्फत् खरिद सम्भव नहुने बताउने तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा दुविधा बनाएको बताए । उनले यो सवै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंकासमेत व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तिारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सबै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्रप्रति किन अविश्वास सृजना गरिदै छ भन्ने प्रश्नसमेत गरे । संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गरे ।
पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउँदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत बताए । वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए । उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए ।
उनले स्थानीय तहले क्वारेन्टाईन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसासमेत गरे । पौडेलले स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षमता देखाउन सक्ने पनि स्पष्ट पारे ।
पौडेलले राज्यले केहि राम्रा काम गरेको भए पनि प्रर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको बताउँदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आम नागरिकले महशुस गरेको बताए ।
पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई अपिल गरे । पौडेलले कोरोना भाइरसका कारण विश्वमा बजारीकरणका कारण हराउँदै गएको मानवीयता र वातावरण विरोधी कामको समिक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।
उनले विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव बीचको सद्भाव र मानवीयता देखाउने अवसर मिलेको पनि बताए । उनले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताए । पौडेलले विकासको मोडेल परिवर्तन गरि प्रकृतिमैत्री विकासको मोडेललाई अगाडि बढाउन विश्व लाग्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पुर्याउदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई संकटमा सहयोग गर्नसमेत अपिल गरे ।
वरिष्ठ नेता पौडेलले आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई स्थानीय स्तरमा आफैं निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिए ।
प्रकाशित समय १३:०० बजे
















