गृहपृष्ठ कांग्रेसको प्रश्‍न- सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्‍ने ?

कांग्रेसको प्रश्‍न- सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्‍ने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण परीक्षणको व्यापकता बढाउन आग्रह गरेको छ । शनिबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा गम्भीर भई परीक्षणको व्यापकता बढाउन सरकारसमक्ष अनुरोध गरिएकाे छ ।

‘अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?’ विज्ञप्तिमा कांग्रेसले प्रश्न गरेकाे छ । अहिलेसम्म विदेशबाट फर्किएकामा मात्रै कोरोना संक्रमण देखिएकोमा शनिबार नेपालमै रहेकी कैलालीकी महिलामा देखिएपछि कांग्रेसले यसअघि संक्रमण देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएकाहरुको परिक्षण तत्काल गर्न सरकारलाई सुझाव दिएकाे छ।

सरकारले सतर्कता नपुर्‍याएका कारण महिला संक्रमित बनेको प्रवक्ता शर्माको आरोप छ । समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, देश बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए यस्तो अवस्था नआउने शर्माको भनाइ छ ।

‘अब रत्तिभर हेलचेर्क्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्ने र सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिन पनि सरकारलाई कांग्रेसकाे आग्रह गरेका छ । अब सरकारले सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर सतर्कता, परिक्षण र उपचार बढाउने काम युद्धस्तरमा गर्नु पर्ने शर्माले उल्लेख गरेका छन् ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु